
स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ हुने भएको छ।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा वैशाख १५ गते देखि जेठ ८ गतेसम्म जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला गर्न लागेको हो। फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवर्द्धन गर्नको लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा फुटवेयरमा अध्यक्ष नानीराज घिमिरेले अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको बताए। उनले व्यापार प्रवर्द्धन व्यापार मेलाले उद्योगी व्यवसायीहरुलाई थोरै भए पनि राहत मिल्ने आशा रहेको बताए।
त्यस्तै, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष रुद्र प्रसाद न्यौपानेले पछिल्लो समय जुत्ता चप्पल उद्योगी व्यवसायीहरुले धेरै समस्या भोगि रहेकाले आर्थिक रुपमा चलायमान बनाउनको लागि मेला आयोजना गरिएको बताए।
उनले राज्य र उपभोक्ताको चुनावी माहोलमा ध्यान मेलामा होस् भनेर व्यापार मेला गर्न लागिएको पनि बताए। उपाध्यक्ष न्यौपानेले पछिल्लो समय भारतबाट नेपालमा चोरी पैठारी गरेर जुत्ता चप्पल नेपालमा ल्याउने काम भइरहेकाले राज्यले त्यस्तो चोरी पैठारी रोक्नु पर्ने माग गरे।
मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु र स्वदेशी तयार गरिएका जुत्ता चप्पल महिला, पुरुष र बालबालिका सबैलाई ५० प्रतिशत छुटका साथ ३० भन्दा बढी कम्पनीका जुत्ता एकै छानो मुनी पाइने छ।