
गोरखा। औलो रोग निवारण गर्न स्वास्थ्य कार्यालय गोरखाले सञ्चारकर्मी सङ्ग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।

सोमबार स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा विश्व औंलो औलो रोग निवारण गर्न सबै जना जागरुक भएर लाग्नुपर्ने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । संसारभर ४३० जातका एनोफिलिज लामखुट्टे मध्य ४० देखि ६० जातका लामखुट्टेले मात्र औंलो रोग सार्ने गर्दछन् ।
नेपालका ४३ जातका एनोफिलिज लामखुट्टे भएको रेकर्ड पाएको र तीमध्ये ४ जातका लामखुट्टेले औंलो रोग सार्ने गरेको डाक्टर विनोद दुवाडीले जानकारी दिए । एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले समयमै उपचार नगरै ज्यानै जाने डाक्टर दुवाडीले बताए । नेपालमा दुई प्रकारको औंलोका विरामी देखिएको र यसबाट जोगिनुपर्ने उनले बताए ।


औलो रोग लागेपछि दिनहुँ ज्वारो आउने, पसिना आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने उनले बताए । त्यस्तै, पूर्ण रुपमा होस नहुने, पटकपटक मुच्र्छा पर्ने, छारे रोगको लक्षण देखिने, श्वास फेर्न गाह्रो हुने, सहारा विना उठन र हिड्न नसक्ने, रक्तचाप हुने लगायतका समस्याहरु आइपर्ने उनले बताए ।

यो रोग बढी तराइ क्षेत्रमा फैलिने गरेको र हिमाली जिल्लामा भने कम मात्र फैलिने गरेको बताए । गोरखा औंलो रोगको कम जोखिम रहेको उनको भनाइ छ । गोरखामा अघिल्लोवर्ष एकजना र यो वर्षमा एक जनामा औलो रोग देखिएको थियो । विदेशबाट आएका व्यक्तिमा औलौ रोग देखिएको उनको भनाइ छ । गण्डकी प्रदेशमा नवलपरासीबाहेक अन्य जिल्लाहरु औंलो रोगबाट कम जोखिममा रहेको कार्यालयले जनाएको छ ।
नेपाल सरकारले सन २०२५ सम्ममा औंलो रोगलाई निवारण गर्ने लक्ष्य रहेको छ । स्वास्थ्य कार्यालय औलो रोगको निवारणका लागि विभिन्न रणनीतिक कार्यक्रमहरु संचालन गर्दै आएको छ । औलो विरामीको खोजी गर्ने, औलो निवारणका लागि आवश्यक सूचना प्रणाली सुदूढीकरण गर्ने, औलोको जोखिम स्थानहरुमा भेक्टर नियन्त्रण कार्यक्रम संचालन गरी औलो सर्ने दर घटाउने लगायतका कार्यहरु संचालन गर्दै आइरहेको छ ।
गोरखा अस्पतालका सुपरिटेण्डेण्ट हरीकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका नारायणबाबु अर्याल, डाक्टर विनोद दुवाडीले औंलो रोगका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

