
कोरोनाभाइरसका कारण भारतमा थप २५ सय संक्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले दैनिक संक्रमित र मृतकहरूको संख्या पछिल्ला दिनमा बढ्दै गएको जनाएको छ ।
यसअघि, शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना संक्रमित भएको देखिएको थियो । मृतकको संख्या शनिबारभन्दा बढी ५४ रहेको थियो ।
पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या १५ हजार ७९ छ ।

