• शनिबार, साउन ९ २०८३

कोरोना भाइरसबाट जोगिन गोरखामा के के भयो तयारी ? विस्तृत विवरण सहित


आइतबार, चैत्र ९ २०७६
1.3K
Shares

मोहसिन अलि मियाँ
गोरखा ।
अन्तराष्ट्रिय रुपमा कहरका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रास नेपालमा समेत बढ्दै गएको छ । हालसम्म नेपालमा यसको संक्रमण नदेखिएपनि सुरक्षाका लागि बिभिन्न उपाय अपानाइएको छ ।

तिनै तहका सरकारले कोरोनाको संक्रमण भित्रिन नदिन बिभिन्न खाले पूर्वतयारी र कार्ययोजनालाई अघि बढाएको छ । सरकारले नै सार्वजानिक रुपमा भेला हुने खालका सबै स्थलहरुमा बन्देज लगाइसकेको छ । यता गोरखामा समेत सो भाइरसलाई भित्रिन नदिन स्थानीय सरकार, प्रशासन, स्वास्थ्य संस्था तथा नीजि क्षेत्रबाट बिभिन्न उपाय अवलम्बन गरिएको छ ।

कैदीबन्दीलाई भेट्न बन्देज

गोरखा कारागारमा रहेको कैदी बन्दीहरुलाई भेटघाटमा प्रतिबन्ध लगाईएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै अर्को सुचना प्रकाशित नभएसम्म कैदीबन्दीका आफन्त लगायत कोही कसैलाई भेटघाटमा बन्देज लगाइएको कारागारका निमित्त प्रमुख रविलाल सुवेदीले जानकारी दिए ।

कारोना भाइरसको जोखिमबाट कैदीबन्दीलाई जोगाउन घर वा बाहिरी स्थानबाट खाना, खाजा लगायतका खानेकुरा समेत कारागारमा लैजान र खान पूर्ण रुपले रोकिएको सुवेदीले बताए । कारागार प्रशासनले कैदी बन्दीहरुलाई नियमित रुपमा साबुन पानीले हात धुन र मास्क लगाउन समेत निर्देशन दिएको छ ।

मनकामना मन्दिरमा पूजाआजा गर्न रोक

मनकामना मन्दिरमा शनिबारदेखि पूजाआजामा रोक लगाइएको छ । कोभिड–१९ को संक्रमण फैलन नदिन प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले बताए ।

तर मन्दिरमा बिशेष पूजा भने रोकिने छैन । यता गोरखकाली मन्दिरमा नियमती पूजा सञ्चालन गरी भक्तजनलाई भने प्रवेश रोक लगाउने तयारी भइरहेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए ।

केबलकार पनि बन्द

यसैविच मनकामना केबलकार पनि बन्द भएको छ । चैत ८ गतेदेखि ३० गतेसम्म केबलकार पूर्ण रुपमा बन्द गराइएको मनकामना दर्शन प्रालिले बताएको छ । दर्शकको भिडभाड बढी हुने र भाइरसको समेत उच्च जोखिम हुने भएकाले बन्द गराइएको प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले बताए ।

गोरखा संग्रहालय बैशाख १९ सम्म बन्द

यसैवीच ऐतिहासिक गोरखा संग्रहालय भने बिहीबारबाटै बन्द भइसकेको छ । अर्को निर्णय नभए आगामी २०७७ बैशाख १९ गतेबाट संचालनमा आउने संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए ।

गोरखा र आँपपिपल अस्पतालमा आइसुलेशन कक्ष

कोरोना संक्रमितको आशंका लागेकालाई उपचार गर्न गोरखा र आँपपिपल अस्पतालले पूर्वतयारी थालेको छ । शंकास्पद बिरामी भेटिएमा छुट्टै कक्षमा राखेर उपचार गर्न गोरखाका दुई अस्पतालले आइसोलेशन वार्ड तयार गरेको हो ।

गोरखा अस्पतालमा २ वटा कोठाबाट ४ बेडको सो वार्ड सुरुवात भएको सुचना अधिकारी कृष्ण ढकालले बताए । त्यस्तै उपचारका लागि गोरखा अस्पतालले इमर्जेन्सी मेडिकल टिम समेत बनाएको ढकालको भनाई छ ।

त्यस्तै पालुङटार नगरपालिका ३ आँपपिपलस्थित आँपपिपल सामुदायिक अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको छ । पालुङटार नगरपालिकाको सहयोगमा अस्पतालमा ४ वटा बेड र आवश्यक औषधि उपकरण सहितको आईसोलेसन वार्ड स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र गिरीले जानकारी दिए ।

स्थानीय तहको छुट्टै ‘हेल्थ डेक्स’ र आइसोलेशन कक्ष

कोरोना भाइरसको जोखिम कम गर्न गोरखाका स्थानीय तहले समेत बिभिन्न स्थानमा हेल्थ डेक्स स्थापना गरी सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाले जिल्लाको प्रवेशद्धार वडा नम्बर १३ स्थित मझुवा देउरालीमा डेक्स स्थापना गरी जिल्ला भित्रिने र बाहिरीने यात्रुको स्वास्थ्य अवस्था चेकजाँच गर्दै आएको जनाएको छ ।

त्यस्तै आरुघाट गाउँपालिकाले तीन ठाउँमा स्वास्थ्य चेकजाँच कक्ष स्थापना गर्ने निर्णय गरेको छ । धादिङबाट गोरखा भित्रिने बूढीगण्डकी पुल, भीमसेन थापा गाउँपालिकाबाट आरुघाट प्रवेश गर्ने स्तुलखोला पुल र घ्याम्पेशालबाट आरुघाट प्रवेश गर्ने सीमामा हेल्थडेस्क राख्ने तयारी आरुघाटको छ ।

यसैगरी सिरानचोक गाउँपालिकाले चार ठाउँमा आइसोलेशन कक्षको तयारी गरेको छ । हर्मीको नमूना भवन, नयाँसाँगुको कृषि सहकारीको भवन, जौबारी प्राथमिक स्वास्थ्य केन्द्र र थालाजुङको स्वास्थ्य चौकी भवनमा आइसोलेशन कक्ष तयार गरिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । त्यस्तै आठवटा वडाको स्वास्थ्य चौकीमा गरी आठ ठाउँमा हेल्थडेस्क तयार गरेको उनले बताए ।

सकेसम्म घरमै बसेर काम गर्नु ः पत्रकार महासंघ गाेरखा

नेपाल पत्रकार महासंघ गोरखाले समाचार संकलन र सम्प्रेषण गर्दा सुरक्षित भएर मात्र गर्न जिल्ला स्थित पत्रकारहरुलाई आग्रह गरेको छ । समाचार संकलनका लागि भिडभाड हुने स्थानमा नजान र सरकारी अधिकारी वा निकायको सूचनामा आधारित भएर समाचार सम्प्रेण गर्न सञ्चारगृहलाई महासंघले आग्रह गरेको हो ।

त्यसै गरी कोरोना भाईरसबारे सचेतना जगाउन स्थानीय तहलाई संम्बन्धित सरकारी निकायले गरेका गतिविधी र क्रियाकलाप बारे नियमित सूचना आदान प्रदान गर्न गराउन महासंघले आग्रह अध्यक्ष किशोरजंग थापाले बताए ।

त्यस्तै महासंघको शनिबार बसेको बैठकले कोरोना भाईरसको मौका छोपेर कालोबजारी, यातायात साधनमा मनोमानी शुल्क लिने, दैनिक उपभोग्य सामग्री महँगोमा बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने जस्ता काम नगर्न नगराउन संम्बद्ध पक्षमा आग्रह गर्दै र सरोकारवाला निकायलाई नियमित अनुगमनमा जोड दिन आग्रह गरेको अध्यक्ष थापाले बताए ।

जिल्ला भित्रिने बढे

कोरोनाको संन्त्रास बढेसँगै गोरखा भित्रिने पनि बढेका छन् । कामको शिलशिलामा काठमाण्डौं, चितवन, पोखरा रहेका सर्वसाधरण आफ्नो स्थायी घर फर्कने क्रम ह्वातै पढेको हो । जिल्ला भित्रिने बढेसँगै रोगको संक्रमण पनि बढ्ने खतरा देखिएको छ ।

अहिले जिल्ला भित्रिने सवारी साधानमा यात्रु खचाखच देखिएका छन् । तर सरकारी निकायसँग आधिकारी डाटा भने छैन । कतिपय सवारी साधनले साविकको भन्दा तेब्बर भाडा लिएको सर्वसाधरणको गुनासो छ ।

गृहको निर्णय कुदै प्रशासन

प्रधानमन्त्रीको संबोधनमा अत्यावश्यक बाहेकका सेवा रोक्ने निर्णय गरेपनि स्पष्ट निर्देशन नआउँदा प्रशासनले कडाई गर्न सकेको छैन । ‘हामीलाई आधिकारीक रुपमा केही निर्देशन आएको छैन्,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने,‘मन्त्रालयमा समन्वय भइरहेका छ, निर्देशन आउने बित्तिकै आवश्यक कडाई गर्छौं ।’

कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले जरुरी कामबाहेक घरबाहिर हिडडुल नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न जिल्लाबासी तथा विदेशी नागरिकलाई आवत जावत नगर्न आग्रह गरिएको हो ।

जिल्लास्थित विद्यालय, क्याम्पस, इन्स्टिच्यूट, पार्टीप्यालेस, मठमन्दिर, मस्जिद, गुम्बा, चर्चजस्ता शैक्षिक, धार्मिक, सांस्कृतिक, सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा धेरै जमघट हुन रोक लगाएको कार्यालयका प्रशासकिय अधिकृत हर्क रोकाले बताए ।

सार्वजानिक यातायात सञ्चालनमा बन्देज

कोरोना भइरसको संक्रमणबाट सावधानी अपनाउन गोरखामा सार्वजानिक यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्लामा सञ्चालित गोरखा दरौदी यातायात सेवा प्रालि र पृथ्वी यातायात सेवा प्रालिले सोमबारबाट आफ्ना सम्पूर्ण क्यु स्थगित गरेको बताएको छ । यससंगै भोली सोमबारदेखि गोरखामा जिल्लाभित्र समेत भाडाका यात्रुवाहक सवारी चल्ने छैनन ।

सरकारले लामो दुरीका सवारीमा प्रतिवन्ध लगाएपनि गोरखामा भने जिल्लाभित्र चल्ने सार्वजाजिक यातायातमा समेत सञ्चालनमा रोक लगाइएको हो ।

यातायात व्यवस्था विभागका अनुसार २ सय ५० किलोमिटरभन्दा टाढाको दूरीलाई लामो दूरी मानिन्छ। ‘सरकारले गरेको निर्णयमा हाम्रो साथ छ, कोरोनाको जोखिमलाई न्यूनिकरण गर्नु हामी सबैको दायित्व हो’ गोरखा दरौदी यातायात सेवा प्रालिका सञ्चालक सदस्य अञ्जनबाबु खत्रीले सिभिलखबरलाई भने ‘अहिलेलाई सोमबारबाट हाम्रा मातहतका सम्पूर्ण सवारीको क्यू स्थगित गरेका छौ ।’

यता पृथ्वीले समेत भाडाका गाडी नचलाउने बताएको छ । ‘हामी ब्यवसायमा भन्दा यात्रुको स्वास्थ्यमा संवेदनशिल छौ’ पृथ्वी यातायातका गोरखा प्रमुख राजन ढुंगानाले भने ‘कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सोमबारबाट हामी पनि जिल्ला भित्र र बाहिर चल्ने सबै गाडी रोकेका छौ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार