
गोरखा। गोरखा दरौदी यातयात कम्पनी प्रालिले आइतबारदेखि गोरखा सदरमुकामदेखि लाप्राकसम्म नियमित बस सेवा सुरु गरेको छ ।
गोरखाबाट हरेक दिन बिहान सातबजे लाप्राक र गोरखा सदरमुकामबाट एकसाथ बस छुट्ने गोरखा दरौदी यातयात कम्पनी प्रालिका संचालक अन्जनबाबु खत्रीले बताए । दुई महिनाअघि नै बस सेवा संचालन गर्ने निर्णय भएपनि मौसम र पूर्वाधार निर्माण नहुँदा ढिलो भएको उनले बताए ।


अहिले बाटो सहज भएको र मौसमले साथ दिएकाले लाप्राकसम्म बस सञ्चालन गरिएको खत्रीले बताए । गोरखा बजार देखि बारपाक सम्म हाल भाडा दर चारसय ६० रुपैया निर्धारण गरिएको छ । बारपाकदेखि लाप्राकसम्मको भाडादर एकसय ५० देखि एकसय ७५ सम्म पुग्न सक्ने उनले बताए ।
पहिलो पटक बस पुगेकाले भाडा निर्धारण नभएको उनको भनाइ छ । बाटो सहज भएमा र मौसमले साथ दिए बाह्रै महिना बस सेवा संचालन हुने खत्रीले जानकारी दिए । बाटो सहज भएमा र मौसमले साथ दिए बाह्रै महिना बस सेवा संचालन हुने खत्रीले बताए ।
सदरमुकामदेखि लाप्राकसम्म बस सेवा संचालन भएसँगै स्थानीयहरु खुसी भएका छन् । लाप्राकमा बस सञ्चालन भएसँगै स्थानीयलाई आउजाउ गर्न सहज हुने स्थानीयले
बताए । उनले भने, ‘अब यहाँका स्थानीयलाई धेरै सहज हुने भयो । लाप्राकदेखि गोरखा सदरमुकामसम्म भाडा पनि कम हुने भयो ।’
यसअघि जीपबाट महङ्गो भाडा तिरेर आउजाउ गर्दै आएका लाप्राकीलाई कम भाडामा बस सेवा सुरु भएसँगै सजिलो भएको छ । लाप्राकसम्म बस सेवा संचालन भएसँगै लाप्राक, गुम्दा र सिङ्लाका स्थानीयले पनि सहज सेवा पाउने भएका छन् । खाद्यान्न ढुवानी लगायत काममा पनि सहज हुने भन्दै त्यस क्षेत्रका स्थानीय खुसी छन्।


