गोरखा । इसेवाबाट कुनैपनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको हो ।
गत बिहीबार रातीदेखि बैशाख १८ गतेसम्मका लागी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने भएको इसेवाले जनाएको छ ।
इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको जनाएको छ ।
‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ’ इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ।

इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइ जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्कभुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा रकम पठाउन सकिने ब्यवस्था रहेको कार्यकारी अधिकृत सापकोटाले बताए ।