
राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनोट भएका ‘म्यादी प्रहरी’ लाई उद्यमशीलता तालिम दिएको छ। तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ।
स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी वनाउन छनोट भएका म्यादी प्रहरी ४० दिनपछि बिदा हुनेछन्। विदा भएपछि उनीहरु पुन: वेरोजगार बन्नेछन्।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘निर्वाचन सकिए लगत्तै वेरोजगार बन्ने युवा म्यादी प्रहरीलाई आफ्नै देशभित्र स्वरोजगार वन्न प्रेरित गर्न हामीले उद्यमशीलता तालिम दिएका हौं।’ परिषदले भक्तपुर र धादिङका १२५० जना म्यादी प्रहरीलाई सहुलियतपूर्ण कर्जा सहजिकरण, वित्तीय साक्षरता र उद्यम तालिम दिएको जनाएको छ।


अहिलेसम्म भक्तपुरमा अलगअलग समूह बनाएर ५५० जना म्यादी प्रहरीलाई उद्यम तालिम दिइएको छ। तालिम कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत उपस्थिति रहेको थियो।
यस्तै धादिङमा विभिन्न समूह बनाएर ७०० जना म्यादी प्रहरीलाई तालिम दिइएको परिषदका तालिम शाखा प्रमुख दिनेस घिमिरेले बताए। धादिङको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल समेत सहभागी भएका थिए।
