• मंगलबार, भाद्र ३० २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ देखि सञ्चालन गरिने


आइतबार, बैशाख ४ २०७९
740
Shares

निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा आउने भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ। 

यसैगरी मन्त्री आलेले कोरोना संक्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४ सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।

पुरानो एक हजार पाँच सय मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए। 

उनका अनुसार बुद्ध, यती, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान सुरू गर्नेछन्। अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि सुरू हुने प्राधिकरणले जनाएको छ। 

यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तर्राष्ट्रिय उडान सुरू गरिने महानिर्देशक अधिकारीले बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार