नायिका आँचल शर्माको फागुन २९ मा भव्य बिहे भयो । बिहेमा सीमित आफन्तलाई मात्र निमन्त्रणा गरिएको थियो ।
चैत्र १ मा बिहेको भव्य पार्टी राखिएको थियो । आँचलको बिहेको भन्दा बढी चर्चा उनको बिहे भोजको भयो । उनी विमानस्थलबाट हेलिकप्टर चढेर राजधानीको पाँचतारे होटलमा आइपुगेकी थिइन् ।
आँचल होटल परिसरमा हेलिकप्टरबाट उत्रिएको मात्र चर्चा भएन । उनले लगाएको पहिरनको पनि चर्चा भयो । उनले लगाएको लेहेंगा १६ किलोको भएको चर्चा चल्यो ।
त्यतिमात्र होइन । भारतीय डिजाइनरले तयार पारेको आँचलको लेहेंगाको मूल्य १६ लाख भएको खबर बाहिर आयो । यद्यपि यसबारेमा आधिकारिक धारणा आएको छैन ।

यो खबर फैलिएपछि भने आँचललाई ट्रोल बनाउन थालिएको छ ।
त्यसो त नेपाली सेलिब्रेटीले बिहेमा यस्तो तामझाम नगर्ने कारण पनि धेरैलाई आँचलको बिहे खर्चालु लागेको छ ।
बलिउड तथा विदेशी कलाकारले भने बिहेलाई जतिसक्यो भव्य बनाउने गर्छन् । केही हप्ताअघि आयुष्मान देशराज जोशीसँग विवाहबन्धनमा बाँधिएकी प्रियंका कार्कीको बिहे पनि भव्य रुपमा सम्पन्न भएको थियो ।
अझ आँचलको बिहेमा १६ लाखको लेहेंगा र हेलिकप्टर चार्टर गरेको कुराले प्रियंकाको बिहेको तामझाम नै ओझेलमा पारिदिएको थियो ।
सामाजिक सञ्जालमा आँचलको महंगो बिहेलाई लिएर अनेक टिकाटिप्पणी गरेका छन् । कतिपयले आँचलले बिहेमा यत्रो खर्च नगरेर कुनै फाउण्डेसनमार्फत दुःखीको सहयोग गर्नुपर्ने भन्दै विरोध गरेका छन् ।