
गोरखा। महिलाहरुलाई स्वरोजगार बनाउन गोरखामा एक महिने ढाका बुन्ने एड्भान्स तालिम सम्पन्न भएकोे छ । सोमबार गोरखकाली हस्तकला उद्योग गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तरगत महिलाहरुलाई एक महिने ढाका बुन्ने तालिम संचालन गरिएको संस्थाका सचिव सिर्जना पाण्डेले बताइन् । फागुन २३ गतेबाट सुरु भएको तालिम सोमबार सम्पन्न भएको उनले बताइन् । नगरपालिकाको करिब दुई लाखको बजेटबाट संचालन गरिएको एक महिने तालिमको अवधिमा ढाका थान कपडा बुन्ने, साडी, सल बुन्ने तालिम दिइएको उनले जानकारी दिइन् ।



उक्त तालिममा १० जना सहभागी भएका थिए । महिलाहरु सिप सिकेर आत्मनिर्भर बन्न र रोजगारीमा सहभागी हुन तालिम संचालन गरिएको सचिव पाण्डेले जानकारी दिइन् । तालिममा सहभागीहरुले इच्छा जनाएमा सोहि हस्तकला उद्योगमै पनि रोजगारी दिइने उनले बताइन् ।
संस्थाका अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षता तथा गोरखा नगरपालिका उपप्रमुख वीनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष कृष्णबहादुर केसी, नगरपालिका कार्यपालिका सदस्य सावित्रा थापा पुलमी, नगरपालिकाकी प्रशासन शाखा अधिकृत शोभा दवाडी, प्रशिक्षार्थी रुकु थापा मगर लगायतले मन्तव्य राखेका थिए ।

