
गोरखा। गोरखा नगरपालिका भित्रका महिलाहरुलाई २५ थान सिलाई बुनाई मेसिन हस्तान्तरण गरिएको छ ।
नगरपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई शनिबार एक कार्यक्रमका बीच नगर प्रमुख राजनराज पन्त र उप्रमुख विना कुमारी श्रेष्ठले संयुक्त रुपमा सिलाई मेसिन हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पन्तले सिलाई बुनाई कार्यलाई व्यवसायिक रुपमा अघि बढाउन मेसिन हस्तान्तरण गरिएको बताए ।



स्थानीय स्तरमा उत्पादित बस्तुको बजार व्यवस्थापन समेत नगरपालिकाले सहयोग गर्ने बताउदै आगामी दिनमा थप सामाग्रीहरु पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।
सोहि कार्यक्रममा नगरपालिकाकी उपप्रमुख विना कुमारी श्रेष्ठले विभिन्न समयमा सिलाई बुनाई तालिम लिएको तर आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई मेसिन हस्तान्तरण गरेको बताइन् ।

उप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तरगत सिलाई मेसिन हस्तान्तरण गरिएको उनले जानकारी दिइन् । उक्त हस्तान्तरण गरिएको मेसिन घरमा थन्काएर नराख्न रआफ्नो घरपरिवार, समुदायमा लुका सिउन प्रयोग गर्न समेत उनले सबैलाई अनुरोध गरेकी थिइन् ।
यस अघि विभिन्न सयममा सिकेको सिपलाई व्यवहारमा लागु गर्दै आयआर्जनमा सहयोग पु¥याउन मेसिन हस्तान्तरण गरेको उनको भनाइ छ । कार्यक्रममा वडा १ देखि १४ सम्मका २५ जनालाई सिलाई मेसिन सेट वितरण नगरपालिकाकी अधिृकत शोभा दवाडीले जानकारी दिइन् ।
उनका अनुसार विभिन्न सयमा नगरपालिका, वडा कार्यालयबाट सिलाई बुनाई तालिम प्राप्त गरेको तर आर्थिक अवस्था कमजोर भएका कारण मेसिन किन्न नसकेको स्थानीय महिलाहरुलाई लक्षित गरी मेसिन वितरण गरिएको हो । नगरपालिकाले केही दिनअघि जारी गरेको सार्वजनिक सूचनाको आधारमा प्राप्त निवेदनका आधारमा मेसिन वितरण गरिएको उनले बताइन् ।


