गोरखा । गोरखामा आजदेखि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने अभियान सुरु हुदैछ । गोरखाका ६१ हजार ४ सय ९६ जनाबालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएकाे स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे हाे ।



आज चैत २५ देखि २९ गतेसम्म पहिलाे चरण र २०७९ बैशाख ५ देखि १० गतेसम्म दाेस्राे चरण गरी १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ११ स्थानिय तह रहेको गोरखामा ६१ हजार ४ सय ९६ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेको कार्यालयकी प्रमुख विधा तामाङले बताइन ।

जिल्ला भित्रका तीन सय ८२ खोप केन्द्रबाट उनीहरुलाई खोप लगाउने तयारीमा रहेको उनले जानकारी दिइन् ।
अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनको भनाई छ । उक्त अभियान दुइ चरणमा संचालन हुनेछ । पहिलो चरणमा चुमनुब्री गाउँपालिका बाहेक अन्य १० स्थानीय तहमा संचालन हुनेछ ।



पहिलाे चरणमा गोरखा नगरपालिकामा १५ हजार ३, पालुङटार नगरपालिकामा ८ हजार ५९१ जना, गण्डकी गाउपालिकामा ४ हजार ५९३, भिमसेन गाउपालिका ४ हजार १३१, शहिद लखन गाउपालिकामा ४ हजार ४३७ जना बालबालिकालाई साे खाेप दिने तयारी छ ।
त्यस्तै पहिलाे चरणमै बारपाक गाउपालिकामा ५ हजार ५९६ जना, धार्चे गाउपालिकामा ४ हजार ३९२ जना, सिरानचोक गाउपालिकामा ४ हजार २४९ जना, अजिरकोट गाउपालिका ३ हजार २७२, आरुघाट गाउपालिकामा ५ हजार ८५७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
यि पालिकाहरुमा चैत्र २५ गते देखि २९ गते सम्म खोप अभियान संचालन हुने र दोस्रो चरण अन्तरगत चुमनुब्रीमा वैशाख ५ देखि १० गते सम्म संचालन हुने बताइएकाे छ । चुमनुव्रि गाउपालिकामा १ हजार २४८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

