मोहसिन अलि मियाँ
गोरखा । रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालयले प्रयोग गर्दै आएको पानीको मुहानमा विवाद भएको छ । गोरखा नगरपालिका १० विरेञ्चोकको सो विद्यालयले २१ बर्षअघिदेखि प्रयोग गर्दै आएको पानीको मुहानका बिषयमा विवाद भएको हो ।
गोरखा नगरपालिका ८ खोलखोलेबाट विद्यालयले २०५५ सालमा मुहान रहेको जग्गा खरिद गरी हालसम्म पानी प्रयोग गर्दै आएको छ । तर साविकका जग्गाधनी इन्द्र बहादुर खत्रीले मुहान वरपर लगाईएको घेराबार भत्काइदिएपछि विवाद बढेको हो ।
‘५५ सालमा विद्यालयले ७ आना जग्गा किनेर गोरखा बजारबाट बिरेञ्चोक पानी पु¥याएको हो, लालपूर्जा पनि स्कुलकै नाममा छ’ खोलखोले विरेञ्चोक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष एकबहादुर अर्यालले भने ‘अहिले आएर मुहान दिन्न भनेर जग्गाधनीका छोराबाट अवरोध भयो ।’
७ आना २ दाम १ पैसा जग्गा विद्यालयले ५० हजार रुपैयामा खरिद गरेको थियो । खोलखोलेबाट झण्डै ७ किलोमिटर दुरीमा पाइप विच्छाएर लगिएको खानेपानीमा हाल खत्रीले अवरोध गरेपछि विद्यालयमा समस्या बनेको छ ।
‘पोहोर पनि डोजर लगाएर मुलमा बाटो हाल्दिए, हामीले विवाद गरेनौ, यो साल पनि उस्तै’ समितिका अध्यक्ष अर्यालले भने ‘मुहान जोगाउन पक्की पर्खाल लगाएका थियौ, कामदारलाई थर्काएर सबै भत्किाइदिनुभएछ, अहिले स्कुलमा पानी नै धमिलो आएर समस्या भयो ।’
विद्यालयमा करिब ३ सय विद्यार्थी लगायत आसपासका स्थानीयले समेत सो खानेपानी प्रयोग गर्दै आएका छन् । ‘स्कुललाई बढी भएको पानी त्याहाका २ सय घरधुरीले पनि खाइरहेका छन्, गाउँमा यहि पानीको भर हो’ विरेञ्चोकका स्थानीय नन्दलाल बगालेले भने ‘बुवासंग २१ बर्षअघि किनेको जग्गामा छोराले अहिले आएर दादागिरी गरे, यो सरकारवादी मुद्धा हो हामी कानुनी उपचारमा जान्छौ ।’

अघिल्लो बर्षदेखि नै मुहानका बिषयमा खत्रीले विवाद निकालेपछि विद्यालय र समितिले वडा कार्यालय, गोरखा नगरपालिकाको न्यायिक समिति र जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएको थियो ।
सामान्य छलफलपछि विवाद साम्य भएपनि फेरी विवाद उत्पन्न भएको छ । ‘पोहोर पनि मुलमा माथीबाट भल लगेर हाले, माटो हाले’ उनले भने ‘त्यसपछि हामीले सबै निकायलाई गुहा¥यौ, छलफल भएर मिल्यो तर फेरी अहिले उस्तै ।’
यता जग्गाधनी इन्द्रबहादुर खत्री भने बेचेको जग्गाभन्दा बढी क्षेत्रफल समितिले ओगटेकाले विवाद भएको दावी गर्छन् । ‘म जागीरमा हुदा ५० हजारमा ३ आना भनेर बुवासंग ८ आना पास गरेछन्, अहिले उहाँहरुले झण्डै डेढ रोपनी जग्गामा घेराबार लगाउनु भएको छ’ खत्रीले भने ‘मैले पानी नदिने भनेकै छैन तर मुलका नाममा मेरो जग्गामा उहाँहरुले पर्खाल लगाउन त भएन नि ।’
अघिल्लो साल विवाद भएपछि जनप्रतिनिधीको रोहवरमा नापी समेत गरिएको उनले बताए । नापीले हाल घेराबार हालेभन्दा तल उनिहरुले खरिद गरेको जग्गा देखाएको खत्रीको आरोप छ ।
‘उहाँहरुले मलाई पोहोर नै उजरी हाल्नु भएको हो, त्यसपछि सबैलाई राखेर सरकारी नापीले उहाँहरुको जग्गा छुट्याइदिएको थियो’ उनले भने ‘यो बर्ष त झन माथीबाट पर्खाल लगाउन सुरु गर्नुभएछ त्यै भएर मैले रोकेको हो ।’
