
सुदिप श्रेष्ठ
गोरखा । गोरखामा ६१ हजार भन्दा बढि बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइदै छ ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाद्धारा मंगलबार आयोजित कार्यक्रममा टाइफाइड बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विद्या तामाङले ६१ हजार भन्दा बढि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जानकारी दिइन् ।
चैत्र २५ देखि वैशाख १० गते सम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ११ ओटा स्थानिय तह रहेको गोरखामा ६१४९६ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेको तामाङले बताइन । जिल्ला भित्रका तीन सय ८२ खोप केन्द्रबाट उनीहरुलाई खोप लगाउने तयारीमा रहेको उनले जानकारी दिइन् ।



अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनको भनाइ छ । उक्त अभियान दुइ चरणमा संचालन हुनेछ । पहिलो चरणमा चुमनुब्री गाउँपालिका बाहेक अन्य १० स्थानीय तहमा संचालन हुनेछ ।

पहिला चरणमा गोरखा नगरपालिकामा १५००३, पालुङटार नगरपालिकामा८५९१ जना, गण्डकी गाउपालिकामा ४५९३, भिमसेन गाउपालिका ४१३१, शहिद लखन गाउपालिकामा ४४३७ जना बारपाक गाउपालिकामा ५५९६ जना, धार्चे गाउपालिकामा ४३९२ जना, सिरानचोक गाउपालिकामा ४२४९ जना, अजिरकोट गाउपालिका ३२७२, आरुघाट गाउपालिकामा ५८५७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । यि पालिकाहरुमा चैत्र २५ गते देखि २९ गते सम्म खोप अभियान संचालन हुने स्वास्थय कार्यालय गोरखाका प्रमुख तामाङले बताइन् ।
त्यस्ते, दोस्रो चरण अन्तरगत चुमनुब्रीमा वैशाख ५ देखि १० गते सम्म संचालन हुने उनले जानकारी दिइन् । चुमनुव्रि गाउपालिकामा जम्मा १२४८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ ।


नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो । यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ । पछिल्लो समय एन्टिबायोटिकले समेत कम गर्न छोडेको भन्दै यो खोपले टाइफाइडविरुद्ध लड्न निकै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । यो खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य असर हुनसक्ने उनको भनाइ छ ।
‘सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्छन् । त्यसका लागि खोप लगाइसकेपछि आधा घण्टासम्म निगरानीमा राख्नुपर्ने तामाङले बताइन् । यो खोप मासुभित्र दिइने र यसले वयस्क र बालबालिकामा दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने उनले बताए । उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य अधिकृत नबराज खड्का, पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।


