• शनिबार, साउन ९ २०८३

गोरखा संग्रहालय आसपासका सडकमा ठूला गाडी प्रवेशमा रोक


सोमबार, चैत्र ३ २०७६
1K
Shares

मोहसिन अलि मियाँ
गोरखा, ३ चैत ।
सदरमुकामको ठूलोआँगन क्षेत्रमा मालवाहक सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । गोरखा नगरपालिका ६ मा रहेको गोरखा संग्रहालय आसपासको क्षेत्रमा हेभि सवारीलाई प्रवेशमा रोक लगाइएको हो ।

उपभोक्ता हित संरक्षण मञ्च र पदेली टोलविकास संस्थाको आग्रहमा गोरखा नगरपालिकाले त्यस क्षेत्रको संरचना संरक्षणका लागि ठूला खाले सवारीलाई प्रवेश नदिने निर्णय गरेको हो । ‘ठूलो आँगन क्षेत्र गोरखाको मात्रै होइन देशकै इतिहास जोडिएको क्षेत्र पनि हो, यहाँका संरचनालाई हेभि गाडीले असर गर्न सक्छ भनेर प्रवेशमा रोक लगाएका हौ’ नगरप्रमुख राजनराज पन्तले भने ‘यहाँका सडकमा सबै ढुंगा बिच्छाइएको छ, त्यसलाई जोगाउनु हाम्रो कर्तब्य हो ।’

पुरातात्विक क्षेत्र र साँघुरो सडक भएकाले यस क्षेत्रमा सवारी प्रवेश गर्दा संरचना बिग्रिदै गएको भन्दै हिजो शनिबारदेखि नगरपालिकाले त्यस्ता सवारीलाई रोकेको बताएको छ । त्यस्तै यस क्षेत्रमा आन्तिरिक तथा बाह्य पर्यटकको समेत आवतजावतलाई सहज बनाउने उदेश्यले ठूला सवारी रोक्नु परेको नगरप्रमुख पन्तको भनाई छ ।

‘बाह्रै महिना पर्यटक आवतजावत गर्ने क्षेत्र पनि हो, सडक पनि धेरै साँघुरो छ’ उनले भने ‘ऐतिहासिक संरचनाको संरक्षण गर्दै पर्यटकलाई हिडडुललाई सहज बनाउने हाम्रो उदेश्य हो ।’

यस क्षेत्रमा सवारी प्रवेश रोक लगाइएसंगै चिल्ड्रेनपार्क हुदै सतिपिपल निस्कने सडक प्रयोग गर्न सवारी चालकलाई नगरपालिकाले आग्रह गरेको छ । यस सडकको स्तरोन्नतीका लागि गत बर्षदेखि नै लगानी गरिरहेको नगरपालिकाले यस बर्ष पनि २५ लाख बजेट बिनियोजन गरेको छ ।

‘हामीले प्रवेश रोक मात्रै लगाएका छैनौ, विकल्पमा धारापानी–चिल्ड्रेनपार्क हुदै सतिपिपल सडकलाई स्तरोन्नती पनि गरेका छौ’ नगरप्रमुख पन्तले भने ‘अघिल्लो बर्ष ढलान हुन बाँकी रहेका काम पूरा गर्न यो बर्ष हामीले २५ लाख रुपैया छुट्याएका छौ ।’

यता पदेली टोल विकास संस्था पनि नगरपालिकाले सुरु गरेको काममा सहयोग गर्ने बताउछ । ‘हामीले पहिलेदेखि नै पहल गरेका थियौ, तर टोलले मात्रै गर्दा त्यति इफेक्टिभ भएन’ संस्थाका सचिव अयोध्या जोशीले भने ‘पुरातात्विक संरचना उप्किेर जाने डर थियो, दुर्घटनाको जोखिम पनि उत्तिकै, गाडी आउन नदिने बिषयमा नगरपालिकालाई हामी पनि सहयोग गर्छौ ।’

यस क्षेत्रमा ट्याक्टर, ट्रक, टिपर, जेसिवी, एक्साभेटलाई मात्रै रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । ‘ठूला सवारीले यहाँका सडक बिगारेका कारण नगरपालिकाको निर्णयलाई कार्यान्वयन गराउन हामीले सहयोग गर्छौ’ ट्राफिक प्रमुख सुक बहादुर विकले भने ‘विपी चौतारा र सतिपिपलमा बोर्ड राख्ने तयारी हुदैछ, त्यसपछि हामी कडाईका साथ लाग्छौ ।’ तर हेभि बाहेक स्कुल बल लगायत साना सवारीलाई भने प्रवेश बन्द नगरिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार