
६५ औं सहकारी दिवसको अवसरमा आज देशभित्र विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सहकारी अभियन्ता, सहकारीकर्मी तथा विभिन्न सहकारी संघ संस्था र तिनका छाता संगठनहरुले आज विशेष कार्यक्रम गरी सहकारी दिवस मनाइरहेका छन् ।

उसो त आज सहकारी दिवसकै अवसर पारेर भूमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागले विशेष कार्यक्रम गर्दैछ । यता सहकारी संघ संस्थाको छाता संगठन ‘राष्ट्रिय सहकारी महासंघ’ ले भने अघिल्लो दिन अर्थात् शनिवार नै दिवस बारे विशेष कार्यक्रम गरेको छ ।
वि.सं २०१३ साल चैत २० गते चितवनको शारदा नगरमा बखान बहुद्देश्यीय सहकारी संस्था आधिकारिक रुपमा स्थापना भएदेखि सोही दिनलाई सहकारी दिवसको रुपमा मनाउन थालिएको हो । ६५ औं सहकारी दिवससम्म आइपुग्दा देशभर २९ हजार ८८६ ओटा प्रारम्भिक सहकारी संस्था पुगेको विभागको तथ्यांकले देखाएको छ ।
जसमा कारोबारको हिसाबमा सहकारीको कूल शेयर पूँजी ९४ अर्ब १० करोड पुगेको छ भने निक्षेप ४ खर्ब ८७ अर्ब ९६ करोड पुगेको छ भने लगानी ४ खर्ब २६ अर्ब २६ करोड पुगेको बताइएको छ ।

