• मंगलबार, भाद्र ३० २०८३

गोरखा बन्यो कोरोनाविरुद्धको पूर्ण खोप नगरपालिका


आइतबार, चैत्र २० २०७८
700
Shares

गोरखा। १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि गोरखा नगरपालिकालाई खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

शनिवार गोरखा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले कोभिड–१९ को पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेका हुन् ।

नगरक्षेत्रका १२ देखि १७ वर्ष उमेरका पाँच हजार चारसय ९९ जनाले र १८ वर्ष उमेर माथिका ३६ हजार ६ सय ५४ जनालाई खोप लगाइएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत इश्वर रेग्मीले बताए ।

उनकाअनुसार कोभिशील्ड तथा अष्ट्राजेनिका पहिलो र दोस्रो, जन्सन एण्ड जन्सन एक मात्रा, भेरोसिल पहिलो र दोस्रो र मोर्डना पहिलो र दोस्रो मात्रा खोप सबैले लगाएका छन् ।

कोभिड–१९ विरुद्धको खोप लगाएपछि पनि तथ्यांक संकलनको क्रममा छुटेका पाँच सय ३९ जनालाई खोप लगाइएको उनले बताए । कोभिडको समयमा पनि स्वास्थ्यकर्मीहरु घरघरमा पुगेर खोप लगाउँदा यो नतिजा आएको मेयर राजनराज पन्तले बताए ।

जिल्ला खोप समन्वय समितिबाट सबै जनाले खोप लगाएको प्रमाणित भएसँगै नगरपालिकालाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चिता पालिका घोषण गरिएको उनले बताए ।

हरेक वर्ष चैत्र १९ गतेलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको अवसरमा कार्यक्रम गर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रमकै अवसरमा नगरपालिका भित्रका कोभिडको समयमा खोप अभियान खटिने स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारी गरी ९० जनालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।

नगरप्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नेपाली कांग्रेस जिल्ला सचिव किशोरजंग थापा, नेकपा एमाले गोरखाका सचिव काजीराम रोका, राप्रपा नेपाल गोरखाका अध्यक्ष कुलबहादुर बस्नेत, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठ, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल, नगरपालिकाका सिनियर अहेब अमृत श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार