• मंगलबार, भाद्र ३० २०८३

नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने


शुक्रबार, चैत्र १८ २०७८
810
Shares

गण्डकी। आगामी चैत २३ गतेदेखि २५ गतेसम्म अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको छाता संस्था (एफएआई) बाट मान्यता प्राप्त नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २०औँ संस्करण हुने भएको छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक बलराम आचार्यले जानकारी दिए ।

एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वल्र्डकप तथा प्रि–वल्र्डकप र पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागिसमेत प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिए । प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार विधामा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

त्यसैगरी प्रतिस्पर्धाअन्तर्गत ल्याण्डिङ ओभरअलको प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ५०, ३०, २० र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फ भने सो विद्याअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र पाँच हजार प्राप्त गर्नेछन् ।

अन्य विधातर्फको एक्युरेसी टेन्डम पुरुषअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र पाँच हजार प्राप्त गर्नेछन् भने एयर शोतर्फ वेष्ट एक्रोबेटिक शोतर्फ प्रथम हुनेले नगद १५ हजार, दोस्रोले नगद १० हजार र तेस्रोे हुनेले नगद पाँच हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । त्यसैगरी वेष्ट कस्टुयुमतर्फ पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितामा वेष्ट कस्टुयुमतर्फ नगद १० हजार प्रदान गरिनेछ ।

कोरोनाका कारण दुई वर्षदेखि स्थगित प्रतियोगिता यसवर्ष सञ्चालन हुन लागेको र प्रतियोगितामा महिला र पुरुष गरी करिब १०० जना खेलाडीको सहभागिता रहने नेपाल हवाई खेलकुद संस्था९ना०का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा व्यावसायिकरूपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ५०० को हाराहारीमा प्याराग्लाइडिङ पाइलटहरू छन् ।

कोरोनाका कारण प्रभावित पर्यटनलाई अघि बढाउन प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिता निर्णायक समितिका संयोजक योगेश भट्टराई, सह संयोजक अनिल केसी, नेपाल पर्यटन बोर्डका प्रबन्धक नवीन पोखरेल, संस्थाका सचिव माधव तिवारीलगायतले साहसिक खेल र यसले पर्यटनमा पार्ने प्रभावलगायतमा बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार