• मंगलबार, भाद्र ३० २०८३

गण्डकी गाउँपालिकाले दियो अविवाहित वृद्धलाई भत्ता


शुक्रबार, चैत्र १८ २०७८
1.1K
Shares

गोरखा। गण्डकी गाउँपालिकाले अविवाहित वृद्धलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गत असारको गाउँसभाबाट पास गरेर चालु आर्थिक वर्षबाट भत्ता उपलब्ध गराउन लागेको हो । मासिक १५ सय रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

एकल पुरुष सामाजिक सुरक्षा भत्ता सञ्चालन कार्यविधि २०७८ निर्माण भइसकेको गाउँपालिकाका सामाजिक सुरक्षा शाखाका प्रमुख रिम्क गुरुङले बताए । ६० वर्षसम्म पनि अविवाहित रहने पुरुषको विवरण संकलन सकेर नियमित भत्ता बाँड्ने क्रममा अब तेस्रो चौमासिकमा चालु वर्षको एकमुष्ट रकम वितरण गरिने गुरुङले बताए ।

भत्ता पाउने त्यस्ता वृद्धको बैंक खाता खोल्ने कार्य पनि सकिएको छ । गाउँपालिकाभरबाट ५ जना सूचीकरण भएको उनले बताए । गण्डकी–२ ताङलीचोकका २, वडा ६ भुम्लीचोकका २ र वडा ८ घ्याल्चोकका एकजना अविवाहित वृद्ध भत्ताका लागि सूचीकृत भएका हुन् । चालु आवको नौ महिना अवधिको मासिक १५ सयका दरले तेस्रो चौमासिकमा एकमुष्ट भत्ता उपलब्ध गराउन सबै प्रक्रिया सकिएको उनले बताए ।

६० वर्षको उमेरसम्म विवाह नै नभएको व्यक्तिले भत्ता पाउने कार्यविधिमा छ । विवाह नगरेको प्रमाणका लागि त्यस्ता हकवालाको सामाजिक मुचुल्का गरिएको छ । ‘ घरगाउँमा पुगेर छिमेकीलाई साक्षी राखी सामाजिक मुचुल्का उठाउने काम भयो, त्यसको आधारमा वडाले सिफारिस गरेपछि बल्ल सूचीकृत गर्‍यौं,’ उनले भने । विवाह गरेर छाडेकाले भने यस्तो भत्ता प्राप्त गर्ने छैनन् ।

गाउँपालिकाका अविवाहित वृद्धमध्ये केही दाजुभाइ वा आफन्तसँग बसेका छन् भने कोही एक्लै छन् । अविवाहित वृद्धलाई जीवन निर्वाहमा सजिलोका लागि भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए । ‘७० वर्षपछि ज्येष्ठ नागरिक भत्ता पाउँछन्, ६० देखि ७० को १० वर्षका लागि भए पनि गाउँपालिकाले उपलब्ध गराएको यो रकम जीवन निर्वाहमा सहज हुन्छ,’ उनले भने ।

यस नीतिले गाउँपालिकाले लिएको सामाजिक सुरक्षा कार्यक्रमको विद्यमान नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वनय गर्न सहज हुने र सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनेको अपेक्षा छ । गत असारको गाउँसभाले अविवाहित वृद्धसहित लैंगिक अल्पसंख्यक (तेस्रो लिंगी) लाई पनि भत्ता दिने निर्णय गरेको थियो । गाउँपालिकामा लैंगिक अल्पसंख्यकको तर्फबाट भने एक जना पनि सूचीकृत नभएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार