
ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ। बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको हो।
फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलो अहिले ४८० मा बिक्री भइरहेको छ। सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन्। जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ।


फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको जानकारी दिए।
हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उनले बताए। फुङ्लिङ बजारकै व्यवसायी नरेन्द्र बस्नेतले पनि ब्रोइलर कुखुरा पाउन छोडिएकोले मासुको मूल्य महँगो भएको जानकारी दिए । झापादेखि कुखुरा आयात गर्नुपरेको उनको भनाई छ।

इलाम र झापामा पनि मागअनुसार कुखुरा पाउनै मुस्किल पर्ने गरेको व्यवसायीले बताएका छन्। व्यवसायी नेत्र न्यौपानेले जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको बताए। लोकल कुखुराको मासु प्रतिकिलो ७०० ले बिक्री हुँदै आएको छ।
अर्का व्यवसायी कुमार शेर्पाले पनि कुखुरा पाउन छोडेपछि मासु बिक्री गर्न छोडेको जानकारी दिए। फुङ्लिङ बजारका अधिकांश फ्रेस हाउस तथा बोइलर मासु बिक्री केन्द्र हिजोआज बन्द भएका छन् । सीमित फ्रेस हाउस सञ्चालनमा रहे पनि उनीहरुले मासु महँगोमा बिक्री गर्दै आएका छन्।
सहजरुपमा बोइलर कुखुरा नपाएकै कारण मासुको मूल्य वृद्धि भएको उनीहरुको भनाइ छ । मूल्य महँगो भए पनि व्यवसायीले उपभोक्ताको मागअनुसार बोइलरको मासु उपलब्ध गराउन सकिरहेका छैनन्।

