• बुधबार, भाद्र ३१ २०८३

गण्डकी विश्वविद्यालयले चाँडै ६ उत्पादन थाल्ने


बिहिबार, चैत्र १० २०७८
620
Shares

पोखरा । गण्डकी विश्वविद्यालयले स्थापना गरेको इनोभेसन सञ्चालनका लागि सहयोग आदानप्रदान गर्नेबारे राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको छ ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरे । त्यस अवसरमा पुनले गण्डकी विश्वविद्यालयको इनोभेसन सेन्टरमा आफू महिनामा ५/६ दिन आएर कामै गर्न तयार रहेको सुनाए । उनले आफ्नो बजेटको पुँजीगत खर्चको १ प्रतिशत अनुसन्धानका लागि छुट्याउन सुझाव दिए ।

‘अरु देशले जिडिपीकै ३/४ प्रतिशत छुट्याउँछन्, सबैभन्दा धेरै इजरायलले ५ प्रतिशत नै छुट्याउँछ, दक्षिण कोरिया र इजरायलको प्रतिस्पर्धै हुन्छ,’ उनले भने । इनोभेसन सेन्टर २४ सै घन्टा खुला हुनुपर्ने, विश्वविद्यालयबाहिरका व्यक्तिको पनि पहुँच हुनुपर्ने सुझाव पनि पुनले दिए ।

विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले विश्वविद्यालयका भौतिक संरचनामध्ये सबैभन्दा पहिला इनोभेसन सेन्टरको भवन बनेर उद्घाटन गरिसकेको जानकारी दिए । ‘पढाइ गर्ने भवनभन्दा पहिला यो तयार भएको छ,’ उनले भने, ‘यसैले पुष्टि गर्छ विश्वविद्यालय अनुसन्धानमा कति केन्द्रित छ ।’ साढे २ करोड रुपैयाँको सामान आइसकेको र ७० थरी औजार खरिद प्रक्रियामा रहेको जानकारी पनि दिए ।

रजिस्ट्रार तिमिल्सिनाले गण्डकी विश्वविद्यालयको इनोभेसन सेन्टरबाट छिटै नै ६/७ थरी उत्पादन चाँडै आउन लागेको सुनाए । उनकै भनाइमा इनोभेसन सेन्टरबाट बिजुली चुलो, धुवाँ नआउने गरी अलैंची सुकाउने उपकरण, पोल्ट्री फार्मिङलाई काम लाग्ने हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन लगायत उत्पादन गरिने भएको छ । कोदोको रक्सीको ब्रान्डिङको क्रममा प्रयोगशालामा पठाएको रिपोर्ट छिटै आउने क्रममा रहेको पनि उनले सुनाए । ‘विश्वविद्यालयले ब्रेनड्रेन रोक्ने र ब्रेन गेन गर्ने दिशामा काम गरिरहेको छ,’ उनले भने ।

कुलपति प्राडा गणेशमान गुरुङले इनोभेसेन सेन्टरदेखि नै गण्डकी विश्वविद्यालयको बाटो बेग्ले बनेको बताए । उपकुलपति प्राडा नवराज देवकोटाले विभिन्न सहयोग जुटाउँदै विश्वविद्यालय अघि बढिरहेको जानकारी दिए । उनले शिक्षण एवं अनुसन्धान केन्द्रको रुपमा विश्वविद्यालयलाई अघि बढाइएको पनि बताए । समाधानबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार