• बुधबार, भाद्र ३१ २०८३

गोरखामा १ महिने ढाका टोपी बनाउने तालिम सुरु


सोमबार, चैत्र ७ २०७८
1.1K
Shares

गोरखा । गोरखामा एक महिना ढाका टोपी बनाउने तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको सहयोग तथा महिला उधमी संघको आयोजनामा सदरमुकाममा एक महिने ढाकाको टोपी बनाउने तालिम सुरु भएको हो ।

तालिमको सोमबार एक कार्यक्रमका वीच गोरखा नगरपालिकाकी उपमेयर विना कुमारी श्रेष्ठले उद्घाटन गरेकी हुन् । तालिम उद्घाटन गर्दै उपमेयर श्रेष्ठले काम गर्न र ब्यवसायमा लाग्न चाहानेलाई नगरपालिकाले सहयोग गर्ने बताइन् ।

नगरपालिकाले ५ बर्ष लगानी गर्दा नगरक्षेत्रमा धेरै महिलाहरु ब्यवसायिक बन्दै उधमीका रुपमा अघि बढेको बताउदै उनले लगानी खेर नगएको दावी गरिन् । हरेक बर्ष उपप्रमुख सवल नेतृत्व कार्यक्रम अन्तरगत १४ वटै वडामा बिभिन्न तालिम लिएकाहरु अहिले आत्मनिर्भरको बाटोमा अघि बढेकाले कार्यक्रमको प्रगती देखिन थालेको उनको भनाई थियो ।

सो कार्यक्रम अन्तरगत जुत्ता चप्पल बनाउने, चुरा, पोते, माला मूर्ति बनाउने, सिलाई कटाई, ड्राइभिङ, बेकरी लगायतका तालिम दिइएको उनले बताईन् । साथै उनले सिकेको सिप सदुपयोग गर्ने तर स्रोतको अभाव खड्किएकालाई नगरपालिकाले अनुदान र सर्वसुलभ ब्याजदरमा ऋणको समेत ब्यवस्था समेत गर्दै आएको बताइन् ।

महिलालाई उधमीका रुपमा विकास गर्न ढाका टोपी बनाउने तालिम दिन लागिएको उधमी संघकी अध्यक्ष रिता रेग्मी अर्यालले बताइन् । जिल्लामा करोडौ मुल्यका मायाको चिनो, खादा लगायतका सामाग्रीहरु बाहिरबाट आयात भइरहेकाले अब जिल्लाकै मौलिक र इतिहास झल्कने मायाको चिनो तथा खादा लगायतका सामाग्रीहरु उत्पादन गर्ने र बाहिरी आयात रोक्ने गरी संघले उधमी तयारी गर्न बिभिन्न तालिमबाट सिप सिकाइरहेको रेग्मीले बताइन् ।

जिल्लामा त्यस्ता सामाग्रीको आयात नभई निर्यात गर्ने गर्नेगरी संघ अघि बढेको सचिव सृजना पाण्डेले जानकारी दिइन् । एक महिने ढाका टोपी बनाउने तालिममा १० जना महिलाको सहभागिता रहने सचिव पाण्डेको भनाई छ ।

तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष कृष्णबहादुर खत्री, गोरखा उधोग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, उधमी विकास समितिका अध्यक्ष सुशिला श्रेष्ठ, आयोजक संस्थाकी उपाध्यक्ष शुष्मा श्रेष्ठ लगायतले बोलेका थिए ।

संघले नगरपालिकै सहयोगमा केहि दिनअघिदेखि पृथ्वी नारायण शाहको मूर्ति बनाउने तालिम समेत दिइरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार