

गोरखा । गोरखामा नेपाल पत्रकार महासंघको कार्यालय भवन बन्ने भएको छ । गोरखा नगरपालिका ८ समिचौतारामा महासंघको नाममा रहेको ३ आना जग्गामा कार्यालय भवन बन्न लागेको हो ।
भवनको सोमबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गरेका छन् । करिब ८० लाख लगानी अनुमान गरिएको महासंघको साढे २ तले भवन निर्माणका लागि यस बर्ष गण्डकी प्रदेश सरकारले १० लाख र गोरखा नगरपालिकाले ५ लाख रकम विनियोजन गरेको छ ।



यस बर्ष निर्माण सुरुवात गरिएको भवन अगामी आ.व. २०७९/८० सम्ममा पूरा गरिसक्ने लक्ष्य महासंघले लिएको अध्यक्ष नरहरी सापकोटाले बताए ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पोखरेलले सरकारले सञ्चार क्षेत्रलाई कुनै किसिमको अंकुस नलगाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले सरकार नागरिकको सुचनाको हक र स्वतन्त्रताको अडिक रहेकाले सूचनामा अंकुश लगाउने कुनै तयारी नरहेको स्पष्ट पारेका हुन ।

फरक प्रशंगमा बाल्दै मुख्यमन्त्री पोखरेलले आवस्यक परेको गण्डकी प्रदेशभरका सबै नागरिकलाई निशुल्क रगतको ब्यवस्था सरकारले गरेको र सेवा शुल्क समेत सरकारले हटाउने निर्णय गरेको जानकारी दिए । त्यस्तै स्तन क्यान्सर, पाठेघर क्यान्सर लगायतका बिरामीलाई समेत निशुल्क उपचार गर्न प्रदेश सरकारले भरतपुर क्यान्सर अस्पतालसंग सम्झौता गरेको समेत उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारले समाचार र प्रचारमा स्वार्थ राखेर कोही कसैसंग आर्थिक सम्झौता गर्न नहुने बताएका छन् । संस्थागत विकासमा आर्थिक सहयोग लिने विषयमा विवाद नरहेको समेत उनले बताए ।
त्यस्तै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पत्रकार महासंघको संस्थागत विकास र पत्रकारहरुको क्षमता अभिबृद्धिमा आफुले सक्दो प्रयास गरेपनि वेलाबखत त्यस्ता कार्यक्रमलाई विवादित बनाउने गरेको प्रति असन्तोष ब्यक्त गरे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले आफ्नो कार्यकालमा प्रदेशभरका ११ वटै जिल्लामा महासंघको भवन निर्माण गर्न पहल गर्ने बताए । पछिल्लो समय पत्रकारका नाममा गैरपत्रकारहरुले फाइदा लिइरहेको र सिंगो सञ्चार जगतलाई नै बद्नाम गराइरहेको भन्दै त्यसतर्फ सजग रहन आह्वान समेत गरेका छन् ।

माहसंघ गोरखा शाखाका संस्थापक अध्यक्ष समेत रहेका सामुदायिक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापाले भवन निर्माण सुरु गरेपछि पूरा गर्ने दायित्व समेत प्रदेश सरकारकै रहेकाले आगामी बजेटमा प्रयाप्त बजेट विनियोजन गर्न माग गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ् लगायत स्थानीय जनप्रतिनिधी, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधी, नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधी लगायतकाे सहभागिता रहेकाे सचिव विकास मरहट्टाले बताए ।
हालसम्म महासंघले गोरखा नगरपालिकाले उपलब्ध गराएको भवनबाट आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ । भवन निर्माण गर्न केहि समयअघि गोरखा नगरपालिका ८ का शम्वु खत्रीले महासंघलाई २ आना दान र महासंघले १ आना जग्गा खरिद गरेको कोषाध्यक्ष मोहसिन अलि मियाँले जानकारी दिए । महासंघको गोरखा शाखामा २९ जना पत्रकार आवद्ध रहेको बताइएको छ ।


