
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको विदेशी मुद्रासहित गोरखाकी एक युवती पक्राउ परेकी छिन् ।

गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका ८ बोर्लाङ घर भई हाल काठमाण्डौं महानगरपालिका १३ बस्ने २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दिउँसो विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो।
उनले १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर अवैध रुपमा लुकाई लैजान लागेको प्रहरीले जनाएको छ।
कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको ब्यागेज विमानस्थलमा एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

