• बुधबार, भाद्र ३१ २०८३

गोरखा नगरपालिका ७ मा सार्वजनिक सुनुवाई, नागरिकका गुनासै गुनासा


शनिबार, चैत्र ५ २०७८
1.4K
Shares

गोरखा । गोरखा नगरपालिका ७ का स्थानीयले कृषि, शिक्षा, खानेपानी, निर्माणधिन अलपत्र बसपार्क, सिटीहल तथा विकास निर्माणका बारे असन्तुष्टी पोखेका छन् । शनिबार वडामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागीले स्थानीय टोलविकास संस्थाहरुसंग समन्वय नगरी वडाले एकलौटी ढंगले काम गर्ने गरेको भन्दै असन्तुष्टी पोखेका छन् ।

गोरखा नगरपालिकाको आयोजना तथा सोच नेपालको सहजीकरणमा भएकाे कार्यक्रममा बोल्दै खिरेपानी टोलका प्रविन श्रेष्ठले सदरमुकाममा रहेरपनि वडा नम्बर ७ बत्तिमुनीको अध्यारो भएको भन्दै उनले वडाध्यक्षको कार्यशैलीप्रति असन्तोष ब्यक्त गरे ।

छिपिटोल नयाँबजारका ओम बहादुर श्रेष्ठले वडाभित्र उत्पादन हुने कृषि उपजको सहज बजार ब्यवस्थान गर्न हाट बजार सञ्चालन गर्नुपर्ने सुझाव दिए । भएको बसपार्क हटाएर डण्डीडाँडाँमा बसपार्क निर्माण गर्ने भनिएपनि बर्षौदेखि काम अलपत्र बन्दा पार्किङको समस्या भएको भन्दै तत्काल बसपार्क सञ्चालन गर्न गैरीकुवा टोलका इश्वर प्रसाद श्रेष्ठले माग गरेका छन् ।

त्यस्तै कार्यक्रममा जन्तेढुंगा टोलका महेश्वर बस्नेतले गोरखा क्याम्पसदेखि छेवेटारसम्मको सडक अलपत्र बन्दा कसैको नजर नपुगेको भन्दै गुनासो पोखे । जनप्रतिनिधीले रोड खन्ने र ढलान गर्नै कामलाई मात्रै विकास सम्झनुले समस्या उत्पन्न भएको नयाँबस्त रमाइलो टोलका अविनास कोइरालाले सामाजिक रुपमान्तरणमा समेत लाग्नुपर्नेमा जोड दिए ।

किसानले समयमै विउविजन नपाएको गुनासो गर्दै धारापानी टोलका डम्मर कुमार श्रेष्ठले वडाले १ लाख खर्चेर किनेको त्रिपाल आसेपासेलाई मात्रै वितरण गरेको आरोप लगाए ।

त्यस्तै कार्यक्रममा दिपशिखा टोलका मायालक्ष्मी भण्डारीले बर्षौदेखि निर्माणाधिन अवस्थामा रहेको सिटिहलको काम सम्पन्न गर्न र सञ्चालनमा ल्याउन दवाव दिनुपर्ने बताए । सडकमा नाली नहुँदा लाखौ खर्चेर निर्माण गरिएका सडकहरु जिर्ण बनेको भन्दै नयाँबसपार्क टोलका डिल बहादु श्रेष्ठले तत्काल समाधान खोज्नुपर्नेमा जोड दिए ।

मान्द्रेढुंगा टोलका धन बहादुर खत्रीले उपभोक्ता समितीका नाममा ठेकेदारले सडक निर्माणमा रजाई गरिरहेको र अनियमितता भएको थाहा पाउदा समेत सम्बन्धित निकाय मौन रहेको आरोप लगाए ।

ऋृषिराम न्यौपानेले किसानलाई समयमै रासायनिक मल वितरण गर्न माग गरे भने पात्ली तामाङले विकास निर्माणदेखि हरेक कार्यक्रममा महिलालाई विभेद गर्नेगरेको गुनासो गरिन् ।
कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरुको गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त तथा वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले जवाफ दिएका थिए ।

कार्यक्रममा सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले बिभिन्न सुचक र प्रश्नावलीमा तयार गरिएको ३ वटा अनुसूची र वडाभित्रका ५० जना सेवाग्राही तथा स्थानीयमा गरिएको सर्भेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडासचिव सरस्वती अधिकारीले वडाको सेवा प्रवाह, कार्यान्वयन भएको योजनाको हरहिसाव तथा आम्दानी र खर्चका बारे तयार गरिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार