• बुधबार, भाद्र ३१ २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब १ लिटरको मूल्य कति ?


बुधबार, चैत्र २ २०७८
1.1K
Shares

फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएको जानकारी दिएको हो ।

आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा  बुधबार नेपाल आयल निगमलाई आइओसीले पेट्रोल, डिजेल र हवाई इन्धनको बढेको मूल्यसूची पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

उनका अनुसार आइओसीले पेट्रोल लिटरको १६ रूपैयाँ ३७ पैसा बढाएर पठाएको छ। त्यस्तै डिजेलमा २४ रूपैयाँ ५० पैसा र हवाई इन्धनमा १८ रूपैयाँ ९० पैसा बढेर आएको छ।

अब बढेकाे मूल्य अनुसार पेट्राेल प्रतिलिटर १५५ तथा डिजल र मट्टितेलकाे मूल्य १३८ रुपैयाँ पुगेकाे छ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलाेलिटर दुई सय अमेरिकी डलर वृद्धि गरिएकाे छ।

यो बढेर आएको मूल्यले आयल निगमको घाटा झनै बढेर जानेछ।

अब यो घाटा ३२ रूपैयाँ नाघेको छ। डिजेलमा पनि ३६ रूपैयाँ बढी घाटा हुनेछ। निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा एक करोड ५० लाख, हवाई इन्धन आन्तरिकतर्फ एक करोड १३ लाख र बाह्यतर्फ साढे १७ करोड रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।

सबै प्रकारका इन्धनबाट नाफा र घाटाको समायोजन गर्दा बुधबारको मूल्यअनुसार निगमलाई अब १५ दिनमा ५ अर्ब ३१ करोड रूपैयाँ घाटा छ। यो भनेको महिनामा साढे दस अर्ब बढी हो।

युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ। कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो। अर्कातर्फ आयल निगम पहिल्यैदेखि घाटामा चलिरहेको थियो। त्यसैले अहिले नेपाली बजारमा इन्धनको भाउ छोटो समयमै धेरै बढिरहेको छ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोेलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो। कच्चा तेलको अहिलेको दरमा हिसाब गर्दा प्रशोधित तेलको मूल्य १० देखि १५ प्रतिशत बढ्ने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए। आजका दिनमा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य कति १०२ डलर प्रतिब्यारेल छ।

रूसी हमलालगत्तै कच्चा तेलको मूल्य बढेर १३८ डलरसम्म पुगेको थियो। यसले विश्वव्यापी रूपले मूल्यवृद्धि हुने आकलन थियो। तर साउदी अरब लगायत तेल उत्पादक देशहरूले आपूर्ति कम हुन नदिने बताएपछि कच्चा तेलको क्रमशः घटिरहेको छ। यसले आगामी दिनमा आइओसीबाट आउने मूल्यसूची पनि कम हुने अनुमान गर्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार