गोरखा । गोरखा अस्पतालमको सुविधासम्पन्न भवन बनेको छ । जर्मनको केएफडब्लु नामक संस्थाको सहयोगमा जिल्ला अस्पतालको साढे ३ तले भवन बनेको हो ।
३७ करोड लगानीमा बनेको भवनको मंगलबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र नेपालका लागि जर्मनका राजदुत थोमस प्रिन्जले उद्घाटन गरेका हुन् ।
बर्षौदेखि साँघुरो र अप्रयाप्त कोठाहरुबाट सेवा सञ्चालन गर्दै आएको जिल्ला अस्पतालले अहिले भने सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ । ५० शैयाको अस्प्तालमा भवन सुविधासम्पन्न बनेपनि जनशक्ति भने अभाव नै छ ।
करिब ३ बर्षदेखि मेडिकल सुपरिडेण्डेन समेत पाउन नसकेको गोरखा अस्पतालमा हाल ११ जना विशेषज्ञ चिकित्सक हुनुपर्नेमा १ जनामा मात्रै कार्यरत रहेको र बाँकी भने प्रशिक्षार्थीहरुको भरमा चल्दै आएको छ ।

भवन उद्घाटन गर्न गोरखा आएका संघिय स्वास्थ्य मन्त्री खतिवडाले देशैभरको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक अभाव रहेको स्विकारेका छन् । कार्यक्रमकै अवसरमा उनले छिट्टै सरकारले जेष्ठ नागरिकको उपचारका लागि छुट्टै अस्प्ताल बनाउने तयारी गरेको जानकारी गराए ।
७० बर्ष माथीमा नागरिकका हरेक किसिमका रोगको निशुल्क उपचार गराउने उदेश्यले सरकारले अस्प्ताल निर्माणको तयारी थालेको उनले बताए ।
कार्यक्रमलाई सम्बाधेन गर्दै राजदुत प्रिन्जले कोभिडका बेला पनि नेपाल सरकारलाई सहयोग गरेको उनले बताए। नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न जर्मन सरकारले निरन्तर सहयोग गर्दै आएको उनले स्मरण गराए।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य कमला पन्तले अस्पताल सुधारमा सबैको हातेमालो जरुरी रहेको बताइन् । उनले गण्डकी प्रदेशलाई मध्यनजर गर्दै गोरखामा नर्सिङ कलेज सञ्चालन गर्नुपर्ने धारणा राखेकी छिन् ।
गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री हरिशरण आचार्यले अस्पतालमा आइपर्ने खानेपानी, उर्जाका समस्या हल गर्न आफू तत्पर रहेको बताए। त्यस्तै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले स्रोत साधनको अपुगताका कारण स्वास्थ्य क्षेत्रमा सोचे अनुसार काम हुन नसकेको स्विकार गरिन ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, अस्पतालका निमित्त प्रमुख डा हरि कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायतले बोलेका थिए । कार्यक्रम अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
कभर तस्विर : साउण्ड वेब गोरखा