• बुधबार, भाद्र ३१ २०८३

सार्वजनिक जमिनमा सामूहिक खेती गरिँदै


मंगलबार, चैत्र १ २०७८
675
Shares

तनहुँ । व्यास नगरपालिका–१० का स्थानीय वासिन्दा सहकारीमार्फत सार्वजनिक जग्गामा सामूहिक सामूहिक खेती गर्दै आएको छ।

मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा सिसुवा भतेरी कृषि सहकारीमार्फत स्थानीय वासिन्दाले सामूहिक खेती गरेका हुन् । संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए ।

सामूहिक खेतीका कारण अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्नको आयआर्जनमा टेवा पुग्नुका साथै अँधिया खेतीको लागि अन्यत्र जानुपर्ने समस्या हटेको छ ।

विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि उक्त सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न अनुमति दिएपछि विगत चार वर्ष अघिदेखि नै सामूहिक खेती गरिँदै आएको हो । करिब एक लाख रुपैयाँ लागतमा जमिन समथर बनाएपछि सामूहिक खेती सुरु गरिएको हो । सहकारीले राम्रो काम गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि १७ लाख रुपैयाँ पर्ने ट्र्याक्टर प्रदान गरेको छ ।

जग्गा नहुनेलाई प्राथमिकता दिएर सामूहिक खेती गर्ने समूह बनाइएको छ । काम पाइन वा गरी खान पाइन भन्नेका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । सहकारीले पराल तथा घाँस स्थानीय गौ संरक्षण प्राङ्गरिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिने गरेको छ र केन्द्रका गाईको मलमूत्र सामूहिक खेतीको लागि प्रयोग गर्ने व्यवस्था मिलाएको छ ।

सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएको छ । सहकारीमा आवद्ध भएकाले सामूहिक खेती र गाईभैंसीको दूध बिक्री गरी मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उक्त सहकारीमा हाल ३२६ जना आवद्ध भएकामध्ये १०९ जना सामूहिक खेतीमासमेत सहभागी भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार