• बुधबार, भाद्र ३१ २०८३

प्रदेशस्तरीय प्रतियोगिता सुरु


आइतबार, फाल्गुन २९ २०७८
1.2K
Shares

हेटौंडा। प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ। हेटौंडा–५ स्थित क्याम्पडाडा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार प्रतियोगिताको उद्घाटन गरेका हुन्। 

प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीको ब्यान्ड प्रस्तुति, विद्यार्थीहरूद्वारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमोस्ट्रेसन र विभिन्न झाँकी प्रदर्शनी गरिएको थियो। 

प्रतियोगितामा फुटबल, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट, कराते, एथलेटिक्स, भलिबल र बक्सिङका प्रतियोगिता हुने परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए। प्रतियोगिताअन्तर्गत मकवानपुरमा फुटबल, तेक्वान्दो र ब्याडमिन्टन, चितवनमा भलिबल र क्रिकेट, सिन्धुपाल्चोकमा कराते, काठमाडौंमा एथलेटिक्स र काभ्रेमा महिला फुटबल र बक्सिङ हुनेछ।

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

प्रतियोगिताअन्तर्गत आइतबार हेटौंडामा पुरुष फुटबल प्रतियोगितामा चितवन र ललितपुरले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा जिल्लास्तरीय प्रतिस्पर्धाबाट छनोटमा भएका दुई हजार एक सय ८८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। तीमध्ये एक हजार दुई सय ४९ जना पुरुष र नौ सय ३९ जना महिला खेलाडी छन्। प्रतियोगिता चार सय ५७ जना अफिसियल र निर्णायकले सञ्चालन गर्नेछन्।

प्रतियोगिता सम्पन्न गर्न आठ करोड चार लाख रुपैयाँ खर्च हुने परिषद्का अध्यक्ष एवं बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीले दैनिक भत्ता दुई हजार रुपैयाँ पाउनेछन्। सबै विधाका खेलका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले जनही तीन हजार रुपैयाँ पुरस्कार पाउने छन्। 

प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको प्रदेश सरकारले बीमा पनि गरिदिएको छ। घाइतेको उपचारमा अधिकतम १५ लाख र मृत्यु भएमा ३० लाख रुपैयाँ बीमाबाट पाउने मन्त्री ढकालले बताए। काभ्रेको धुलिखेलमा चैत १२ गते प्रतियोगिताको समापन हुनेछ।

प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले गौरवको कार्यक्रमका रुपमा प्रदेशमै पहिलो पटक प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए। ‘हामीले देशलाई विश्वमा चिनाउन सक्ने खेलाडीहरू बागमती प्रदेशबाट उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको छ’, उनले भने, ‘प्रदेश सरकार खेलकुदलाई प्राथमिकतामा राखेर खेल क्षेत्रको प्रवद्र्धन गर्न तयार छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार