
गोरखा। अवैध रूपमा जडीबुटी ओसारपसार गरेको आरोपमा एकजना पुरुषलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धार्चे गाउँपालिका वडा-२ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङ हुन् । बिहिवार गुरुङलाई अवैध रुपमा चिराईतो र अल्लो जातको जडीबुटी संकलन गरेर बिक्रीका लागि लैजाँदै गर्दा माछाखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।



केरौजाबाट काठमाडौ बेच्न लैजादैँ गरेको जडिवुटी प्रहरीले फेला पारेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । उनका साथबाट चिराईतो जातको जडिबुटी पाँच बोरा र अल्लो जातको जडिबुटी १४ बोरा बरामद गरिएको अधिकारीले बताए ।
जडीबुटी गाउँका स्थानीहरुबाट संकलन गरी ल्याएको र डिभिजन वन कार्यालय गोरखाबाट कानून अनुसार छुट पुर्जी समेत नलिएकाले पक्राउ गरिएको उनले बताए । पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि आइतबार डिभिजन वन कार्यालय गोरखामा पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


