• बुधबार, भाद्र ३१ २०८३

कालाेपत्रे सडकमा कच्चिकाे भाडा असुलेकाे भन्दै गोरखाका नागरिक समाजकाे ध्यानाकर्षण


शुक्रबार, फाल्गुन २७ २०७८
895
Shares

गोरखा । सार्वजानिक यातायातका साधनले कालाेपत्रे सडकमा कच्चिकाे भाडा असुलेकाे भन्दै गोरखाका नागरिक समाजले समायाेजन गर्न माग गरेका छन् । गोरखा सदरमुकाम भएर बिभिन्न पालिका र गाउँसम्म जाने पक्की सडकमा गाडीले कच्ची हुदाकै भाडा असुलिरहेकाे भन्दै तत्काल घटाउन नागरिक समाजले प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको ध्यानाकर्षण गराएका हुन् ।

नागरिक साझा सवाल गोरखाको अगुवाईमा नेपाल पत्रकार महासंघ गोरखा, गैरसरकारी संस्था महासंघ, मानव अधिकार तथा शान्ति समाज र सोच नेपालले संयुक्त रुपमा प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

जिल्ला भित्र रहेका सडकहरु गोरखा बजारदेखि भच्चेक, बुंकोट नामजुङ, घ्याम्पेशाल, पालुङटार लगायतका ग्रामिण सडकहरु यसअघि कच्चि रहेको र हाल कालोपत्रे भइसकेको अवस्थामा समेत पूरानै भाडा लिएर सार्वजानिक यातायातका साधनहरुले यात्रु ठगेको नागरिक समाजको आरोप छ । कालोपत्रे भएका र स्तरोन्नती भएका रुटहरुको अवस्थाको अध्ययन गरी वैज्ञानिक भाडादर कायम गराउन समेत उनिहरुले प्रजिअ आचार्यसंग माग गरेका छन् ।

यस्तै १२ वर्ष मुनिका बालवालिकालाई कोभिड बिरुद्धको खोप तत्काल लगाउनु पहल गरिदिन पनि नागरिक समाजका अगुवाहरुले अनुरोध गरेका छन् । १२ बर्ष माथीका बालबालिकाले खाेप पाएपनि साे भन्दा मूनीका बालबालिका अझै काेराेना भाइरस बिरुद्धकाे खाेपबाट बञ्चित भएकाे र उनिहरुमा संक्रमणकाे जाेखिम रहेकाले सरकारसंग समन्वय गरी जिल्लाभर खाेप अभियान सञ्चालन हुने वातावरण सृजना गर्न माग गरिएकाे नागरिक साझा सवाल गोरखाका संयाेजक स्थानेश्वर दुवाडीले जानकारी दिए ।

त्यस्तै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनका लागि चुनावी कार्यक्रम सुरु भइसकेकाले यस समयमा हुन सक्ने मुठभेड र जनताको जिउधनको रक्षाका साथै शान्ति सुरक्षा चुस्त बनाउनका लागि ध्यान दिन ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यले यी तीनवटै विषयमा आफु संवेदनशिल रहेको र काम गरिरहेको बताए । बैज्ञानीक भाडादर कायम गर्न छलफल गरिरहेको बताउँदै उनले चुनाव लक्षित योजना र शान्ति सुरक्षाको बारेमा आफु संवेदनशिल भएको बताए ।

ध्यानाकर्षण पत्रमा नागरिक साझा सवाल गोरखाका संयाेजक दुवाडीसहित नेपाल पत्रकार महासंघ गोरखका अध्यक्ष नरहरी सापकाेटा, गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सीताराम श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाजका कार्यवहाक अध्यक्ष सिताराम तिवारी र सोच नेपाल गोरखा प्रतिनिधी माेहसिन अलि मियाँले हस्ताक्षर गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार