गोरखा । गोरखा नगरपालिकाले वडामै शिविर गरेर पशुको स्वास्थ्य परिक्षण तथा उपचार सुरु गरेको छ । वडामै पुगेर कृषकले पालेका पशुको स्वास्थ्य परिक्षण तथा उपचार गर्न गोरखा नगरपालिका अन्तरगत रहेको कृषि तथा पशुपंक्षी शाखाले शिविर सुरु गरेको जनाएको छ ।
घरपालुवा पशुहरुको स्वास्थ्यमा आउने समस्यालाई घरैमा परिक्षण गरी उपचार गर्न र कृषकको सहजताका लागि वडामै शिविरको आयोजना गरिएको कृषि तथा पशुपंक्षी शाखाका प्रमुख नविन अधिकारीले जानकारी दिए । शिविर हिजो बुधबार वडा नम्बर १ बाट सुरु भएको हो ।
शिविरको मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् । कार्यक्रमका बोल्दै मेयर पन्तले धेरै पशु पालन गरिरहेका वडाका जनताको हितलाई ध्यानमा राखेर गाउँमै शिविर थालिएको बताए । शिविरका कारण कृषकलाई सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हट्ने उनले विश्वास ब्यक्त गरे ।
हिजो वडा नम्बर १ मा भएको शिविरमा १ सय ५ जना कृषक लाभाञ्वित बनेका छन् । शिविरबाट करिब १ हजार ३ सय भन्दा बढी पशुलाई सेवा दिइएकाे बताइएको छ । शिविरबाट कृषकले पशु पालन सम्बन्धि प्राविधीक परामर्श, गाईभैसीको गर्भ परिक्षण, निशुल्क औषधी वितरण, बन्ध्याकरण, कुकुरलाई रेविज सुई लगायत पशु स्वास्थ्य परिक्षण गरिएको कृषि तथा पशुपंक्षी शाखाका प्रमुख अधिकारीले बताए ।
शिविरमा भेटेरीनरी अस्पताल तथा पशु स्वास्थ्य सेवाको प्राविधिक सहयोग रहेको बताइएको वडाध्यक्ष हिक्मत कुवँरले जानकारी दिए । आगामी शिविर वडा नम्बर १४ मा आयाेजना हुने शाखाले जनाएकाे छ ।