• बुधबार, भाद्र ३१ २०८३

‘महिलाका नाममा अधिकार सम्बन्धि थुप्रै कानून बने तर कार्यान्वयन खै ?’


बुधबार, फाल्गुन २५ २०७८
775
Shares

गोरखा । महिलाका नाममा अधिकार सम्बन्धि थुप्रै कानुन बनेपनि कार्यान्वयनको पाटो फितलो बन्दा सामाजिक कुरिती मौलाएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ११२ औं अन्तराष्ट्रिय महिला दिवशका अवसरमा एम्नेष्टी इन्टरनेशनल समुह ४२ गोरखाले सदरमुकाममा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले बनेका कानून, ऐन तथा नीतिहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिलाहरु अझैपनि पिडित बन्नुपरेको बताएका हुन् ।

‘महिलाले पाउनुपर्ने अधिकार अब के बाँकी छ ?’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले प्रश्न गरे ‘अबको लडाँई अधिकार पाउन होइन, पाएको अधिकार रक्षा गर्दै प्रभावकारी कार्यान्वयन तर्फ केन्द्रित हुन जरुरी छ ।’

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर पन्तले शहरमा बस्ने महिलाको जिवस्तर हेरेर महिला अधिकार कार्यान्वयन भइरहेको भन्नु गलत रहेको तर्क गरे । ‘हाम्रो बुझाई र सोच शहर केन्द्रित भयो, गाउँका महिलाको हालत हेरेर बुझौ र साचौ’ उनले थपे ‘हामीले भनेको र कानूनमा लेखेको महिला अधिकार त्याहासम्म लागु गर्न अबको लडाँई जरुरी छ ।’

महिलाहरुलाई आत्मनिर्भर बनाउन हरेक बर्ष सिप विकास मुलक कार्यक्रम ल्याएपनि ब्यवहारमा महिलाहरुले नै कार्यान्वयन नगरिदिदा समस्या भइरहेको मेयर पन्तको भनाई छ । सिप सिकेर ब्यवासयीक रुपमा महिलाहरु अघि बढुन भन्ने चाहाना आफुहरुको रहेपनि प्राप्त दक्षता र ज्ञानको उपयोग नगर्दा महिलाहरु स्वयम पछाडी परेको उनको तर्क थियो ।

सोच नेपालको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका उपप्रमुख जनुका अधिकारीले परिवर्तन अरुबाट खोज्ने भन्दापनि आफु र आफ्नो परिवारबाटै सुरुवात गर्नुपर्नेमा जोड दिइन् । राज्यका हरेक तह र तप्काको नेतृत्वमा महिलालाई पु¥याउनुपर्ने अधिकारीको माग छ ।

एम्नेष्टी इन्टरनेशनल समुह ४२ गोरखा शाखाकी अध्यक्ष टिलकुमारी पोखरेल (सविना) को अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठले अबको आन्दोलन अधिकार माग्ने नभई पाएकोलाई कडाईका साथ लागुपर्ने तर्फ केन्द्रित हुनुपर्ने बताइन् । महिलामा अझै पनि ‘हामी कमजोर छौ र गर्न सक्दैनौ’ भन्ने मानसिकता रहेका कारण

समाज झनै पछाडी धकेलिएको र अब त्यसलाई चिर्न जरुरी रहेको उनको तर्क थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले पछिल्लो समय अपराध गर्ने शैली र प्रवृत्ती समेत परिवर्तन हुदैगएको र प्रविधी र डिजिटल माध्यमबाट महिलाहरु हिंशामा पर्ने गरेको बताए ।

मानवअधिकार सञ्जालका संयोजक यदु अधिकारीले बर्षमा एक दिन होटलमा कार्यक्रम गरेर मात्रै महिला हिंशा कम नहुने र त्यसका लागि गाउँगाउँमा अभियानहरु चलाउन जरुरी रहेको बताए । त्यस्तै कार्यक्रममा मानवअधिकार संगठनमा अध्यक्ष दिलबहादुर बस्नेतले सामाजिक र पितृसत्तात्मक सोच र चिन्तनका कारण महिलाहरु हिंशामा परिरहेको तर्क गरे ।

एम्नेष्टी इन्टरनेशनल समुह ७६ का जिल्ला संयोजक रमेश अधिकारीले महिलाले अधिकार पाउन बनेका कानून र नीतिहरुको प्रभावकारी कार्यान्वयन मात्रै भए पुग्ने बताएका छन् । देशमा राष्ट्रपति समेत महिला रहेको उदाहरण दिदै मानवअधिकार तथा शान्ति समाजका सिताराम तिवारीले महिला अघि बढे घर, परिवार र समाजले छेक्न नसक्ने बताए ।

कार्यक्रममा पद्धती विकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछानेले सामाजिक न्याय, समानताप्रातीका लागि महिला अधिकार र त्यसको कार्यान्वयन अनिबार्य रहेको तर्क गरिन् । त्यस्तै महिला उद्यमी रिता रेग्मीले महिला दिवशमा समेत पुरुषले कार्यपत्र प्रस्तुत गरिदिनुपर्ने अवस्थाका कारण महिलाहरु पछाडी परेको बताईन् ।

कार्यक्रममा सोच नेपालका गोरखा प्रतिनिधी मोहसिन अलि मियाँले महिला हिंशाको अवस्था, कारण र न्युनिकरणका उपायका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा तथ्यांकसहित गोरखादेखि देश र विश्वमा महिला हिंशाको अवस्था, कारण, न्यूनिकरण उपायका लागि कार्ययोजना निर्माणका फाइदा लगायतका बिषय समेटिएको छ ।

कार्यक्रमममा आयोजक संस्थाकी उपाध्यक्ष सावित्रा थापाले स्वागत र निवर्तमान अध्यक्ष बिमला वाग्लेले धन्यवाद मन्तब्य राखेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार