
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–६ घर भई अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सोमबार राति ९ बजे ट्राफिक प्रहरीसहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही दुर्घटनामा परी बर्दियाकै बारबर्दिया नगरपालिका–७ घर भई अस्थाई प्रहरी बिट राझाँमै कार्यरत प्रहरी जवान ३५ वर्षीय नरेश चौधरी घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।

