
पर्वत। नेपालमै पहिलो पटक सिसैसिसाबाट बनाइएको स्काई ब्रिज सञ्चालनमा आएको छ ।
सहासिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य पर्वतको कुश्मा नगरपालिकामा कालीगण्डकी नदीमाथि बनेको स्काई ब्रिज आज सोमबारदेखि सञ्चालनमा आएको हो । स्काई ब्रिजको सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।

हार्नेस जिपलाइन प्रालि कुश्माले जिपलाइन नजिकै बनाएको सिसाको स्काई ब्रिज सोमबारदेखि ब्यवसायीक रुपमै खुल्ला गरिएको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए ।कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुवै लिन सक्ने गरी पुल बनेको छ ।
एकै पटकमा ५० जनासम्मले स्काई ब्रिजको मजा लिन सक्ने बस्नेतले जानकारी दिए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । अहिले युवाहरूको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ । अहिले निर्माण भएको छोटो स्काई ब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए ।

