

गोरखा । नारी दिवश, लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान लगायतका अवसरमा शहरी क्षेत्रमा सचेतनामूलक कार्यक्रम बाक्लै भइरहेका छन् । यस्ता कार्यक्रम र अभियानहरु बर्सेनि गरिँदै आए पनि हिंसाजन्य गतिविधि भने घट्न सकेका छैनन् ।
महिला हिंशाका बिभिन्न प्रकृतीमध्ये महिलाहरु भने घरैभित्र सबै भन्दा बढी पिडित बन्ने गरेको तथ्यांकले देखाउछ । जिल्ला प्रहरी कार्यालय गोरखाकाे तिन बर्षिय तथ्यांकलाई हेर्दा सबै हिंशाहरुमध्ये महिला सबैभन्दा बढी घरेलु हिंशामा परेको देखिन्छ ।



जसमा आफ्नै श्रीमानदेखि परिवारका अन्य सदस्यबाट दिनप्रतिदिन पिडित बन्दै गरेको तथ्यांकले देखाउछ ।
प्रहरीका अनुसार गोरखामा आ.व. २०७६/७७ मा घरेलु हिंशाका मात्रै १२६ घटना दर्ता भएका थिए । त्यस्तै आ.व. २०७७/७८ मा १२३ र २०७८/७९ को साउनदेखि हिजो फागुन २३ गतेसम्म ९२ वटा निवेदन दर्ता भएको देखिन्छ ।
तर दर्ता भएका घरेलु हिंशाहरु भने अधिकांश मिलापत्रमा गएर टुंगिएको प्रहरीको तथ्यांकमा देखिन्छ । जसमा २०७६/७७ मा ८०, २०७७/७८ मा ७६ र हिजोसम्म ८ महिनामा ३९ वटा घटनामा मिलापत्र भएको छ । बाँकी अन्य भने अदालतसम्म पुगेर टुंगिएका छन् ।


त्यस्तै गोरखामा हिंशाको अर्को किसिममा बहुविाह, जबरजस्तीकरणी, करणी उधोग र बाल यौन अपराध पनि रहेको देखिन्छ । जसमा २०७६/७७ मा बहुविवाहका १३, जबरजस्तीकरणीका १३, करणी उधोगका ५ र बाल यौनका ३ घटना जिल्ला प्रहरी कार्यालय गोरखामा दर्ता भएका थिए ।
त्यस्तै २०७७/७८ मा बहुविवाहका ९, जबरजस्तीकरणीका २७, करणी उधोगका ९ र बाल यौनका २ घटना र चालु आर्थिक बर्ष २०७८/७९ को साउनदेखि फागुन २३ गतेसम्म बहुविवाहका ३, जबरजस्तीकरणीका १४, करणी उधोगका १ मुद्धा दर्ता भएका छन् ।



यसरी हेर्दा यस प्रकृतीका घटनाहरुमध्ये गोरखा जिल्लामा जबरजस्तीकरणीको अवस्था थप भयावह बन्दै गएको तथ्यांकले बताउछ ।
त्यस्तै जिल्लाका २ नगरपालिका र ९ गाउँपालिका गरी ११ स्थानीय तहमा रहेकाे न्यायिक समितीमा समेत घरेलु हिंशाका घटनाहरुकाे उजुरी धेरै पर्ने गरेकाे बताइएकाे छ।
