• बुधबार, भाद्र ३१ २०८३

डाक्टरको लापरवाहीले सुत्केरी महिलाको पेटमै छुट्यो स्टिच निडिल सुई


सोमबार, फाल्गुन २३ २०७८
570
Shares

रौतहटमा डाक्टरहरुको लापरवाहीले सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेको घटना सार्वजनिक भएको छ ।

दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका हुन् । प्रसूति पीडा भएपछि अम्बिकालाई उनको परिवारले रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा भर्ना गरेका थिए ।

उनको अप्रेशनमा डा.संजितकुमार साह नेतृत्वको टोली खटिएको थियो । अम्बिकालाई गएराती सुत्केरीको बेथा लागेपछि सो अस्पतालमा पुर्याइएको उनको परिवारले जानकारी दिएको छ । सुरुमा डा.संजितकुमारको टोलीले तत्काल अपरेसन गरेको थियो ।

अप्रेसनपछि स्वस्थ बालिकाको जन्म भएको जितेन्द्रको परिवारले जानकारी दिएको छ । अप्रेशनपछि डाक्टरले टाँका लगाउने स्टिच निडिल सुई पेटमै भुलेको बताइएको छ । अप्रेसन गरिएको केही घण्टामै सुत्केरी महिलाको पेटमा असह्य पीडा भएको र डाक्टरहरुकै आग्रहमा एम्बुलेन्स मगाएर अम्बिकालाई चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा लिएर लगिएको जितेन्द्रको परिवारले बताए ।

चन्द्रपुर अस्पतालका प्रमुख डा।सुभाष चौधरीका अनुसार सोमबार बिहान महिलाको पेटको पुनः अपरेसन गरेर पेटभित्र छुटेका २ थान स्टिच निडिल सुई निकालिएको छ । अहिले महिला र बच्चा दुबैको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पतालले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले घटनाको पुष्टि गर्दै त्यसमा डाक्टरको चरम लापरबाही रहेकोे प्रतिक्रिया दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार