
तनहुँ। तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ । गाउँपालिका–३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो ।
कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर तयार गरेको थियो । टेण्डर प्रक्रियामार्फत गोफाखोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । डिपिआरअनुसार ताल निर्माणका लागि करिब रु १३ करोड बजेट अनुमान गरिएको छ । पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट विनियोजन गरेर ताल निर्माण गरिने बताइएको छ । ताल निर्माणका लागि हालसम्म रु तीन करोड ३३ लाख बजेट विनियोजन गरिएको छ ।


आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारबाट रु एक करोड, चालू आर्थिक वर्षमा रु ८० लाख, आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाबाट रु एक करोड र चालू आर्थिक वर्षमा गाउँपालिकाबाट रु ५३ लाख बजेट विनियोजन गरिएको छ । चालू आवमा रु ९९ लाख ८१ हजार २५६ को काम हुनेछ । विसं २०७९ असार १५ गतेभित्र काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
“बजेट अभावका कारण चार/पाँच वर्षभित्र ताल निर्माणको काम सम्पन्न हुने अनुमान गरिएको छ, पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट राखेर काम अगाडि बढाउँछौँ”, श्रेष्ठले भने । उनासी रोपनी क्षेत्रफलमा ताल निर्माण गर्ने योजना छ । ताल वरपर पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गत आवमा रु ३० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटले ताल निर्माण हुने गोफा खोलाको चारैतर्फबाट मोटरबाटो पु¥याइएको छ ।


“यहाँका बासिन्दा बसाइँसराइ सरेर अन्यत्रै गएका छन्, गाउँबस्ती रित्तो हुनेक्रम बढ्दो छ, ताल निर्माणपछि गाउँ छाडेका मानिस फिर्ता हुने विश्वास गरेका छौँ”, गाउँपालिकाका अध्यक्ष रानाले भने । गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ । गाउँपालिका अध्यक्ष रानाका अनुसार उक्त जग्गाको रोपनीको रु एक लाखका दरले मुआब्जा दिने सहमति भएको छ । “मुआब्जा दिएपछि जग्गा गाउँपालिकाको हुने र तालबाट हुने आम्दानी गाउँपालिकाले प्रयोग गर्नेछ”, उनले भने ।
