• बुधबार, भाद्र ३१ २०८३

पोखराका नौ ताल जोड्न साइकलमार्ग बनाउँदै


आइतबार, फाल्गुन २२ २०७८
875
Shares

सुन्दरनगरी पोखरालाई थप व्यवस्थित र आर्कषण बनाउने काम सुरु भएको छ । प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल जोड्ने साइकलमार्ग निर्माणका लागि आवश्यक तयारी सुरु गरेको हो । 

समुन्नत र समुद्ध पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्ग निर्माण गर्न रु ३० लाख बजेट विनियोजन गरेको छ । यसका लागि १८३ किलोमिटर साइकल ट्र्याकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई रु ३५ करोडको लागतप्रक्षेपण गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी दिए ।

उनले पोखराका ९ ताल फेवा, रुपा, बेगनास, कमलपोखरी, खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी र अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रमा सूचीकृत भइसकेको अवस्थामा प्राकृतिक र सांस्कृतिक विविधताले युक्त पोखराको सौन्दर्य अवलोकनका लागि साइकल संस्कृति विकास आवश्यक रहेको बताए । यस विषयमा सरोकारवालाबीच छलफल भइसकेको र पहिलो चरणमा साइकलमार्गमा सङ्केत चिन्ह राख्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ ।

महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा.रामचन्द्र लामिछानेले पोखरा प्राकृतिक सुन्दरताले बरदान पाएको सहर भएकाले यसलाई सुन्दर बनाउन थप नयाँ कुराको खोजी गर्नुभन्दा पनि भइरहेको प्राकृतिक कुरालाई व्यवस्थापन गरेर नयाँ कलेबरमा रुपान्तरण गर्न सके मात्र पुग्ने उनले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले पोखरा साहसिक खेल पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएकाले ‘लेक टु लेक कनेक्टका लागि साइकलमार्ग निर्माण हुनु निकै प्रशंसनीय कार्य भएको बताए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार