• बुधबार, भाद्र ३१ २०८३

‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ भर्चुअल हुने


बिहिबार, फाल्गुन १९ २०७८
810
Shares

११ औँ ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ यही फागुन २१ र २२ गतेसम्म आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजना रहेको महोत्सव यो पटक कोरोनाको कारण भर्चुअल आयोजना हुँदैछ ।

महोत्सवका कार्यक्रम संयोजक जोगेन्द्र केसीका अनुसार यो पटक महोत्सवमा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिङ्गापुर, स्लोभाकिया, साउथ अफ्रिका , स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपालसहित २४ बढी राष्ट्रको सहभागिता रहनेछ ।

प्रत्येक दुई वर्षमा नियमित आयोजना हुँदै आएको लोकसांस्कृतिक महोत्सवको उद्देश्य विश्वभरि छरिएर रहेका लोप हुन लागेका लोकसांस्कृतिक, धुन, नृत्य र गीतहरू लगायतका विभिन्न पक्षको विकास, विस्तार र जर्गेना गर्ने गराउने रहेको केसीले जानकारी दिए । ‘नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरू रहँदैछ,’ केसीले भने ‘नेपाली संस्कृति प्रति स्वदेशीभन्दा विदेशी बढी आकर्षित हुनु पर्यटन प्रबर्द्धनका दृष्टिकोणले राम्रै मान्न सकिएला ।’

वर्तमान युवा पीढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृति प्रवर्द्धनका निम्ति यस्ता कार्य महत्त्वपूर्ण हुने केसीको भनाइ रहेको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारा सहित २०५९ बाट महोत्सव सुरु भएको हो ।

दसौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७६ मा आयोजना भएको थियो । मेलामा पहिलेदेखि दसौँ संस्करणसम्म आइपुग्दा करिब ५५ भन्दा बढी देशका ५५०० भन्दा बढी कलाकारले आ–आफ्नो देशको मौलिकता झल्कने विविध लोक सांस्कृतिक र कला  प्रस्तुत गरिसकेका छन् । यस पटक महोत्सवमा पश्चिम तराईका थारु जातीले नाच्ने मगौटा नाच, गण्डकी प्रदेशका गुरुङ मगरहरूले नाच्ने कौडा नाच, उपत्यकामा रहेको परापूर्वकालदेखि चलिआएको भैरव, काली र लाखे, नेवार जातिले धिमे नृत्य र कला संस्कृति नेपालबाट सहभागी हुँदैछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार