

गोरखा । गोरखा नगरपालिकाले महिला उधमीलाई सहुलियतपूर्ण ऋृण उपलब्ध गराएको छ । नगरक्षेत्रका बिभिन्न वडामा ब्यवसाय तथा उधमशिलता सञ्चालन गरिरहेका १० महिलालाई १/१ लाख रुपैया ऋृण उपलब्ध गराएको हो ।
महिलाहरुलाई ब्यवसायबाट पलायन हुनबाट रोक्न र उनिहरुको उधमशिलाको विकास गर्न भन्दै नगरपालिकाले १० जनालाई ३ प्रतिशत ब्याजमा एक-एक लाख रुपैया उलपब्ध गराएको जनाएको छ ।



सो रकम आज सोमबार एक कार्यक्रमका विच नगरप्रमुख राजनराज पन्त र उपप्रमुख विनाकुमारी श्रेष्ठले हस्तान्तरण गरेका हुन । केहि समयअघि सूचना प्रकाशित गरी ऋृण लिन चाहेकालाई नगरपालिकाले आवेदन पेश गर्न आह्वान गरेको र ऋृण ब्यवस्थापन कार्यविधी अनुसार मापदण्डले तोकेकालाई छनोट गरी सो रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।
उनिहरुले सो ऋृण चौमासिक रुपमा किस्ता भुक्तानी गर्दै एक बर्षभित्र सबै रकम चुक्ता गरिसक्नु पर्ने कार्यविधीमा उल्लेख छ । जसमा नगरक्षेत्रका बिभिन्न वडामा सिलाई कटाई, कृषि उधमशिलता, पशु पालन लगायतमा आवद्ध रहेका महिलाहरु छनोटमा परेको नगरपालिकाले जनाएको छ ।

ऋृण रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपमुख पन्तले सहुलियत पूर्ण ऋृणले महिलाको उधमशिलतालाई विस्तार गर्न र आत्मनिर्भरको बाटोमा लैजान सहयोग पुग्ने विश्वास ब्यक्त गरे । महिलाहरुलाई आर्थिक विकास र ब्यवसाय तर्फ आकर्षित गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको बताउदै उनले काम गर्नेहरुसंग नगरपालिका सहकार्य गर्न हरपल तयार रहेको बताए ।

त्यस्तै उपप्रमुख श्रेष्ठले व्यवसायिक रुपमा अघि बढ्नेलाई नगरपालिकाले साथ दिने बताइन् । आर्थिक उपार्जनको बाटोमा अघि बढ्न खोज्नेलाई तालिम समेत दिने र ब्यवसाय गर्न स्रोत साधनको समेत चाजो पाँचो नगरपालिकाले मिलाइदिने बताउदै उनले अब महिलाहरु चुलोमा मात्रै सिमित बन्न नहुने तर्क गरिन् ।



त्यस्तै ऋृण प्राप्त गरेकी स्वस्तिक लेडिज टेलर्सकी सञ्चालक सुसिला श्रेष्ठले सहुलियतपूर्ण ऋृणले परिवारमा भर पर्नुपर्ने बाध्यता हट्ने र ब्यवसायलाई अघि बढाउन सहज हुने बताइन् ।
ऋृण लिएकाहरुले हरेक चौमासिकमा किस्तासंगै नगरपालिकालाई प्रगती विवरण समेत बुझाउनुपर्ने प्रावधान रहेको सामाजिक विकास शाखाकी शोभा दवाडी प्रधानले बताइन् ।


