
पोखरा । हाल देशको पश्चिमी भेगमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने सम्भाबना रहेको छ।
त्यसको असर कति दिनसम्म रहन्छ भनेर मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् ।


त्यसको प्रभावका कारण अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा बदली भएको छ । केही स्थानमा असिना पानी परिरहेको छ । बागमती र अन्य प्रदेशमा भने आज बदली मात्रै हुने मौसमविद भट्टराईले बताए ।
बिहीबार एक दिन पानी पर्ने सम्भावना छैन तर शुक्रबारदेखि भने पुनः पश्चिमी वायुको नयाँ प्रणाली नेपाल भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरूमा पानी पर्ने मौसमविद भट्टराईले बताए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा शुक्रबार सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

