
खाना बाँकी हुन्छ भने त्यसलाई फ्रिजमा राखिन्छ र आफ्नो आवश्यकता अनुसार यो प्रयोग गरिन्छ । थुप्रै विशेषज्ञले खानालाई धेरै बेरसम्म फ्रिजमा राख्नु नहुने बताउँछन् तर खाना बचेको खण्डमा त्यसलाई खराब हुनबाट जोगाउन र स्टोर गरेर राख्नका लागि फ्रिजको साहारा लिइन्छ ।

केही समयअघि एउटा घटना सार्वजनिक भएको छ जसमा एक विद्यार्थीले एक रात अघि फ्रिजमा राखेको खाना खाएका थिए र त्यसपछि उनी यति बिरामी भए कि उनको दुबै खुट्टा काट्नु परेको थियो । खाना खाएपछि उनको मृगौलाले काम गर्न बन्द गरेको थियो र उनलाई एउटा गम्भीर रोग लागेको थियो । स्थितिमा सुधार नभएका कारण डाक्टरले यस्तो कदम उठाउनु परेको थियो ।
के हो घटना ?

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनको रिपोर्ट अनुसार जेसी नाम भएका एक विद्यार्थीसँगै कोठामा बस्ने साथीले अघिल्लो रात रेष्टुरेन्टमा चिकन र नुडल्स लिएर आएका थिए । उनले आफूले केही खाएपछि बाँकी फ्रिजमा राखेका थिए ।
भोलिपल्ट बिहान जब जेसीले त्यो खानेकुरा खाए, त्यसको २४ घण्टा नबित्दै उनी बिरामी भए । सुरुमा उनलाई पेट दुख्यो, उनलाई रिँगटा लाग्यो त्यसपछि उनको छाला बैजनी रङको हुन थालेपछि उनका साथीले उनलाई अस्पताल लगे ।
उनलाई उच्च ज्वरो आइरहेको थियो, मुटुको धड्कन प्रति मिनेट १६६ धड्किरहेको थियो, तसर्थ उनलाई बेहोस पानु परेको थियो । जानकारीका अनुसार जेसीलाई कुनै प्रकारको एलर्जी थिएन न नै उनले कहिल्यै मद्यपान गरेका थिए । तर उनी हरेक हप्ता २ प्याकेट चुरोट र दैनिक गाँजा भने सेवन गर्दथे ।

उनको स्थिति थप नाजुक बन्दै गएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत् उनलाई अस्पताल पठाइयो । रिपोर्टमा बताइए अनुसार अस्पताल भर्ना गर्नु २० घण्टा अघिसम्म बिरामी पूर्ण रुपमा ठिक थिए । तर जब उनले रेष्टुरेन्टबाट ल्याएको चिकेन र नुडल्स खाए तब उनको स्वास्थ्य नाजुक हुनथाल्यो ।
अस्पतालमा उपचारको क्रममा थाहा भयो कि जेसी एक ब्याक्टेरियल इन्फेक्सनद्वारा ग्रसित भएका थिए जसका कारण उनको मृगौलाले काम गर्न बन्द गरेको थियो र उनको रगत जम्न थालेको थियो ।
उनको रगतमा यस्ता ब्याक्टेरिया भेटिएका थिए जुन घातक सेप्सिसका निशानी थिए । जेसीको शरीरमा सेप्सिस फैलिन थालेपछि उनको हातका सबै औंला काटिए र घुँडा मुनिका खुट्टा पनि काटिएका थिए । जेसीलाई २६ दिनपछि होस आएको छ तर उनको जीवन अब पूर्ण रुपमा फेरिएको छ ।
