
प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा प्रादेशिक उद्यमशीलता परिसंवाद हुने भएको छ। व्यवसायका प्राथमिकता र क्षेत्रहरु, पछिल्लो समय उद्यम व्यवसायमा परेको नकारात्मक प्रभाव र प्रदेशको आर्थिक सबलीकरणका सम्बन्धमा सरकार र निजी क्षेत्रबीचको उच्चस्तरको परिसंवाद आयोजना हुन लागेको हो ।

कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको पहिचान गरी सरकार, निजी क्षेत्रसहितका साझेदार निकायको संयुक्त संवादबाट आर्थिक पुनरुत्थानको मोडेल र विषयहरु घोषणा पत्रमार्फत सार्वजनिक गर्न र कार्यान्वयनका लागि निरन्तर लविङ् गर्नका लागि परिसंवाद आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष एवं वरिष्ठ उद्यमी विष्णु कुमार अग्रवालले जानकारी दिए।
सोमबार नेपाल उद्योग परिसंघको केन्द्रीय कार्यालय थापाथलीमा प्रादेशिक उद्यमशीलता परिसंवाद आयोजना गर्नका लागि नेपाल उद्योग परिसंघ र विशाल फाउण्डेसनबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । उद्यमीका मुद्दाहरुलाई तीनै तहको बजेट अगाडि नै सरकार समक्ष प्रस्तुत गरिने परिसंघका अध्यक्ष अग्रवालले बताए।

