
रुसले युक्रेनको सिमाबाट सेना फर्काउने घोषणा गरेपछि सुनको मूल्य १६०० ले घटेको छ ।
रुसले मंगलबारदेखि युक्रेनको सिमाबाट सेना फर्काउने प्रक्रिया सुरू गर्ने जनाएको थियो । रुसको उक्त घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपालमा पनि घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ थियो । यस्तै, महासंघले हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम रहेको जानकारी दिएको छ ।

