• बिहिबार, असोज १ २०८३

लमजुङमा उमेर नपुग्दै आमा बन्ने बढे, १५ वर्षका किशोरी आमा


बुधबार, फाल्गुन ४ २०७८
1.9K
Shares

लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ। 

विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने बुझ्नेहरूले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्याङ्क नभए पनि कम उमेरमै आमा हुने किशोरीहरूको सङ्ख्याले बालविवाह न्यूनीकरणमा कुनै पनि उपलब्धि हासिल हुन नसकेको देखाएको छ । जिल्ला अस्पताल लमजुङमा चालु आर्थिक वर्ष २०७८/ २०७९ को ६ महिनामा मात्रै २० वर्ष मुनिका ७० जना किशोरी आमा बनेका छन् ।

जिल्लाका अन्य स्वास्थ्य संस्था तथा जिल्ला बाहिरबाट पनि केहीले सेवा लिएको हुन सक्ने भएकाले सो सङ्ख्या अझै बढी हुनु सक्ने अनुमान गरिएको छ । चालु वर्ष प्रसूति सेवा लिनेमा सबै भन्दा कम उमेरमा १५ वर्षका चार जना रहेका अस्पतालले जनाएको छ । त्यसै गरी आर्थिक वर्ष २०७७/ २०७८ मा प्रसूति सेवा लिने १ सय ५४ जना किशोरीहरू २० वर्षभन्दा कम उमेरका रहेका छन् ।

आर्थिक वर्ष २०७६ / २०७७ मा भने एक सय ७१ जना २० वर्ष मुनिका किशोरीहरू आमा बनेको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।कतिपयलाई परिवार नियोजनका अस्थायी साधन जानकारी नहुँदा तथा जानकारी भएर पनि कतिपयले प्रयोग नगर्दा कम उमेरमै गर्भवती हुने गरेको अस्पतालका स्त्री रोग विशेषज्ञ डा.हेमा छन्त्यालको भनाई छ ।

स्वास्थ्यका दृष्टीकोणले २० देखि ३५ वर्ष उमेरसम्म गर्भवती हुनु राम्रो मानिन्छ । २० वर्ष मुनि र ३५ वर्ष भन्दा माथिको उमेर प्रसूतिका लागि उपयुक्त नहुने चिकित्सकहरू बताउँछन् । यस अवस्थामा गर्भवती हुँदा पाठेघर खस्ने, विभिन्न रोग सङ्क्रमण तथा ज्यानै जाने जोखिम समेत हुने चिकित्सकहरूको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार