• बिहिबार, असोज १ २०८३

हिमाली जिल्ला मनाङमा अद्यावधिक नामावली आएन


बुधबार, फाल्गुन ४ २०७८
550
Shares

स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित भएको छ । तर, हिमाली जिल्ला मनाङमा हालसम्म पनि अद्यावधिक मतदाता नामावली आइपुगेको छैन । 

निर्वाचन नजिकिएसँगै अद्यावधिक भएको नयाँ मतदाता नामावली भने हालसम्म जिल्लामा आइनपुगेको निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले जानकारी दिए । उनका अनुसार निर्वाचनको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलले प्रचारप्रसारलाई समेत तिव्रता दिइसकेको अवस्थामा पनि अद्यावधिक भएको नामावली जिल्लामा आइपुगेको छैन । 

निर्वाचनको मिति घोषणा भएपछि नामावली सङ्कलन स्थगित गरी अद्यावधिकको काम भइरहेको निर्वाचन अधिकारी सुवेदीले बताए। कार्यालय तथा स्थानीय तहमा पुगेर सङ्कलन भएको मतदाता नामावली सङ्ख्या अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएको तर हालसम्म आइनपुगेको उनले बताए । 

कार्यालयले जिल्लाका तीन वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानमार्फत् २६३ मतदाता थपिएका थिए । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट भएको मतदाता नामावली सङ्कलनबाट पनि ६ हजार ९० मतदाता पुगेको उनले बताए । 

मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको उनले जानकारी दिए । गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन् । तीमध्ये महिलाको सङ्ख्या बढी छ । “निर्वाचन कार्यालयले अद्यावधिक नामावली स्थानीय तहमा पठाइसक्नुपर्ने हुन्छ ।

तर, जिल्लामा अद्यावधिक भएको नामावली नआउँदा पालिकामा पठाउन सकिएको छैन”, निर्वाचन अधिकारी सुवेदीले भने, “अद्यावधिक भएको नामावली आउनासाथ पालिकामा पठाउने गरी काम गरिरहेका छौं ।

विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता सङ्ख्या ६ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ५९० मतदाता रहेको जिल्लामा कात्तिकपछिको अद्यावधिक भएको मतदाता नामावली विभागमा पठाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार