
गोरखा । आगामी चैत ४ गते पालुङटारमा दाेस्राे लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गराउने उदेश्यले दौड आयोजना गरिएको आयोजक लिगलिग भिजेल स्पाेर्टले जनाएकाे छ।

‘ऐतिहासिक पर्यटकीय सम्भावना बोकेको लिगलिग क्षेत्रको समग्र बिकास र समृद्धिको लागि साहासिक खेल र पर्वतीय पर्यटनको मााध्यमबाट देश विदेशमा चिनाएर स्थानीय समुदायको उद्यमशिलता बिकास गर्नु कार्यक्रमको मुख्य उदेश्य हो,’ आयाेजक संस्थाका विजय पाण्डेले भने ‘लिगलिगकोटबाट सिरानचोक र लमजुङ्गकाे राइनाससम्मका केही भुभाग समेत परिक्रमा गरी पुनः लिगलिगकोटमा पुगेर दौड सकिनेछ।’

पालुङटार नगरपालिकाको विशेष सहयोग तथा नेपाल साइकल संघसंगकाे सहकार्यमा आयोजना हुन लागेको दोस्रो साइकल दौडले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास आयोजकको छ ।
यता पालुङटार नगरपालिकाले समेत प्रतियोगितालाई अपनत्व ग्रहण गरेको छ । खेलकुदका माध्यमबाट इतिहास र संस्कृतीको जगेर्नासहित पर्यटकिय स्थलहरुको प्रचार प्रसारका लागि साइकल दौडको आयोजना गरिएको मेयर ई दिपकबाबु कडेंलले बताए ।

‘पालुङटारकाे मुख्य पहिचान भनेकै स्पाेर्टस टुरिजम हाे, लिगलिगे दाैडदेखि म्याराथुन र साइकल दाैड अहिले यहाँकाे मुख्य सम्पत्ती बनेकाे छ’ मेयर कडेंलले सिभिलखबरलाई भने ‘खेलकै माध्यमबाट संसारभर हामी पालुङ्टार र यहाँकाे इतिहासकाे परिचय दिन चाहान्छाै ।’



प्रतियाेगिताले पालुङ्टार आसपास रहेका हाेमस्टे लगायतकाे समेत प्रवर्द्धन हुने आयाेजकले विश्वास लिएकाे छ । ५२ दशमलव ९ किलाेमिटर दुरीकाे दाैड प्रतियाेगितामा सफल हुने खेलाडीहरुलाई नगदसहित पुरस्कारकाे समेत ब्यवस्था गरिएकाे छ ।
दर्ता शुल्क २ हजार ताेकिएकाे प्रतियाेगितामा सहभागी हुन आउने खेलाडीलाई खाना र बास लगायतकाे ब्यवस्था समेत आयाेजकले गर्नेछ ।



प्रतियाेगितामा पुरस्कार रकम एकमुष्ट २ लाख छुट्याइएकाे र साे पुरस्कार बराबरकाे रकम गण्डकी प्रदेशकाे युवा तथा खेलकुद मन्त्रालयबाट सहयाेग भएकाे बताइएकाे छ ।
साथै कार्यक्रमका लागि गोरखा नगरपालिका, सिरानचाेक गाउँपालिका, राइनास नगरपालिका लगायतबाट समेत सहयाेगकाे आश्वासन प्राप्त भएकाे आयाेजक लिगलिग भिजेल स्पाेर्टले जनाएकाे छ । प्रतियाेगितामा सहभागिताका लागि आयाेजकले फागुन १० देखि ३० गतेसम्म दर्ता अवधी ताेकेकाे छ ।
तस्विर : सिभिलखबर/ फाइल

