

गोरखा । धार्चे गाउँपालिकाकाे केन्द्र माछाखाेलासम्म बस सेवा सुरु भएकाे छ । नेपाली सेनाकाे नेतृत्वमा निर्माण भएकाे साे सडक खण्डमा हिजाे आइतबारदेखि सार्वजानिक वस सेवा सुरु भएकाे धार्चे गाउँपालिकाका अध्यक्ष सन्ताेष गुरुङ्गले जानकारी दिए ।
सोतीदेखि माछाखोला बजारसम्मको खण्डमा बस हिजाे पहिलो पटक पुगेकाे हाे ।
गाउँसभाको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखा र नेपाली सेनाको सडक निर्माण कार्यदलसँग समन्वय गरी माछाखोलासम्मको दरौँदी गोरखा यातायात सेवा प्रालिको बस सेवा सुरु गरेको उनले बताए ।



हिजाे एक कार्यक्रमका विच १ सय ४ वर्षकी स्थानीय पुर्नी गुरुङले चालक रामशरण गोतामे र दरौँदी यातायात प्रालिका सञ्चालकहरुलाई फूल माला, अबिर लगाएर र गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले रिबन काटेर बस सेवा सुरु गरिएकाे बताइएकाे छ ।

ग १ ख ९४४० नम्बरको बस माछाखोलाबाट आईतवार बिहान ८ बजे गोरखाको लागि छुटेको दरौँदी यातायात सेवा प्रालिका कोषाध्यक्ष शरण गुरुङले बताए । पहिलाे पल्ट माछाखाेला बस पुगेपछि स्थानीय खुसी भएका छन् ।
यसअघि साे खण्डमा निजी बाेलेराे जिपहरुले यात्रुसंग महंगाे भाडा असुल्दै क्षमताभन्दा बढी यात्रु राखेर जाेखिमपूर्ण यात्रा गराउदै आएकाे थिए ।


