
कुर्था–जनकपुर–जयनगर रेल सेवा आजबाट सञ्चालन हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको जानकारी दिए । आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको झाले बताए ।
जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो। औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिने झाले जानकारी दिए। अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ। दिनमा एक पटक रेल चलाउने तयारी छ।


अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, सञ्चार सुविधालगायतका व्यवस्थापन भइरहेको पनि उनले बताए। आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ । अनुमति बिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ ।
रेल सेवाको औपचारिक उदघाटनको मिति तय भएको छैन। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल उद्घाटन गर्ने तयारी छ। फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गर्ने तयारी छ। जयनगरदेखि कुर्थासम्म रेल संचालनका लागि ८४ जना कर्मचारीलाई जनकपुरमा तालिम दिएको थियो।

५८ जना नेपाली र २६ जना भारतीय कर्मचारीलाई तालीम दिएको महाप्रबन्धक झाले बताए। पाइलट, को-पाइलट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट लगायतका पदमा कर्मचारी नियुक्त गरिसकिएका छन्। प्रत्येक स्टेसनमा एक/एक टिकट काट्ने कर्मचारी, २२ गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारी राखिएको छ।
भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो। ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन्। भारत सरकारले झन्डै ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास खण्डमा ७२ किलोमिटर ब्रोडगेज रेल्वे लिंक तयार पार्दैछ। ३ चरणमा निर्माण कार्य भइरहेको छ।
पहिलो चरणमा जयनगर–कुर्था ३६ किमी, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १८ किमी र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किमी लिक तथा विभिन्न स्टेशन निर्माण हुँदैछ। तीमध्ये जयनगर–कुर्थासम्म ३६ किमी ब्रोडगेज तीन वर्षअघि नै तयार भइसकेको छ। बाँकी खण्डमा पनि लिक निर्माण तीव्र गतिमा भइरहेको छ।

